जिल्लाको एक स्थानीय तहले तीनवटा वडालाई समेटेर अर्को नयाँ स्थानीय तह थप्ने प्रस्ताव गरेको छ । भौगोलिक रुपमै विकट भएकै कारण जनतालाई सेवा प्रवाहमा समस्या भएपछि रघुगंगा गाउँपालिकाको कार्यपालिकाको बैठकले दुईवटा गाउँपालिकाको प्रस्ताव गरेको गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारीले बेनीअनलाइनलाई बताए । उनले प्रस्ताव अनुसार नै जिसस, प्रदेश तथा संघीय सरकारमा पेश गरिने बताए ।

प्रस्ताव गरिएको नयाँ स्थानीय तहमा रघुगंगा गाउँपालिकाको वडा न. ५ झिँ, वडा न.६ पाखापानी र वडा न.८ कुइनेमंगलेलाई नयाँमा समावेश गरिएको छ भने भौगोलिक हिसाबले विकट र छरिएको बस्तीको पाखापानी, कुइनेमंगलेमा दुई÷दुई वटा वडा हालको वडा न.२ भगवती र वडा न.३ पिप्लेलाई पनि दुईवटा वडामा विभाजन गर्न प्रस्ताव गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

वडा न. १ बेग, २ भगवती, ३ पिप्ले, ४ दग्नाम र ७ चिमखोलालाई एउटा पालिका कायम गर्न माग गरिएको जनाइएको छ । रघुगंगामा २०६८ को जनगणना अनुसार १५ हजार ७ सय ५३ जनसंख्या रहेको छ । हिमाली जिल्ला मुस्ताङमा सोही संख्या बराबार रहेको जनसंख्याकै आधारमा पनि पाँचवटा स्थानीय तह रहेकाले गाउँपालिकाको प्रस्ताव अनुमोदन हुने जनप्रतिनिधिको विश्वास छ ।राज्यको पुर्नसंरचनाका लागि गठन भएको तत्कालिन आयोगले अस्थायी केन्द्र पाखापानीमा तोकेपछि गाउँपालिका भित्र आन्दोलन चर्किएको थियो ।

जनतालाई सास्तए भइरहेको अवस्थामा कार्यपालिकाको बैठकले गरेको प्रस्तावबाट उत्साहित भएको वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनले पाखापानीमा सेवाकेन्द्रमार्फत सेवा प्रवाह गरेपनि गाउँपालिका नै आवश्यकता रहेको बताए । आगामी स्थानीय तहको चुनाव हुनुभन्दा एक वर्षअघिसम्म स्थानीय तह र वडा थप तथा गाभिने विषयमा स्थानीय तहमा गाउँसभाको दुई तिहाइ बहुमतले प्रस्ताव तथा निर्णय गर्न सक्ने संवैधानिक ब्यवस्था रहेको छ ।

Leave a Reply