आर्थिक संकटमा परेको क्याम्पसलाई स्वदेश तथा विदेशबाट सहयोग जुटाउन नेतृत्वदायी भूमिका खेलेका यहाँका एक गाउँपालिका अध्यक्षले पारिश्रमिक, भत्तावापत सरकारबाट प्राप्त गरेको सुविधा वापतको २ लाख रुपैयाँ गाउँकै क्याम्पसलाई सहयोग गरेका छन् ।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बाबियाचौरको मंगला शिक्षा क्याम्पसमा बुधबार आयोजित एक कार्यक्रममा तलबभत्ता वापत प्राप्त सुविधाको केही हिस्सा क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल, क्याम्पस प्रमुख काशिराज गौतमलाई हस्तान्तरण गरेका हुन् ।

तीनबर्ष अगाडी क्याम्पसको आर्थिक तथा पूर्वाधार विस्तार अभियानमा विदेश विभाग प्रमुखको जिम्मेबारी सम्हाल्दै ठूलो आर्थिक जुटाएका गाउँपालिका अध्यक्ष रोकाले क्याम्पसलाई पश्चिम म्याग्दीका विद्यार्थीको आर्कषण बढाउन पूर्वाधार सहित थप संकायका लागी सहज हुने गरी आर्थिक सहयोग गरेको बताए ।

‘क्याम्पस तहको शिक्षा लिन सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यतालाई तोड्न सफल भएका छौ,‘पश्चिम म्याग्दीसँगै बागलुङका केही बस्तीबाट समेत यहाँ पढ्न आउने वातावरण बनाउन सबैको सहकार्य आवश्यक छ’ रोकाले भने ।सोही अवसरमा क्याम्पसमा पश्चिम क्षेत्रमा कक्षा १२ उत्र्तिणा गरेका विद्यार्थीलाई सदरमुकाम वा जिल्ला बाहिर थप अध्ययानका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न शैक्षिक अभियानलाई समेत तिब्रता दिने सञ्चालक समितिका अध्यक्ष पौडेलले बताए ।

सोही अवसरमा पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रप्रसाद बुढाथोकी,काठमाडौ सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकी,मंगला माविका प्रधानध्यापक गम केसी, जनप्रिय माविका शिक्षक नगेन्द्र खत्री, स्थानीय आमा समुहका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । विधानअनुसार अध्यक्ष रोकालाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको थियो । शिक्षा शास्त्र संकायमा स्नातक तहमा ६० जना विद्यार्थी अध्ययनरत छन्।

यसअगाडी अध्यक्ष रोकाले ६ लाख आर्थिक सहयोग गरेका थिए ।क्याम्पसको पूर्वाधार अभियानमार्फत संकलित आर्थिकबाट बावियाचौरकै लाम्पाटामा ३३ रोपनी जग्गा समेत खरिद गरिएको छ । स्थानीय तहको निर्वाचनमा विजय भएपछि तलब र भत्तालाई शिक्षा तथा सामाजिक हितमा लगाउने घोषणा अन्तरगत रोकाले यसअघि मंगला गाउँपालिका–५ सिरकुममा रहेको किसानी आधारभूत विद्यालयलाई तीन लाख ५० हजार रुपैयाँ सहयोग गरेका थिए भने आर्थिक अभावका कारण शिक्षाबाट बन्चित भएका बालबालिकाको समेत शैक्षिक अभिभावकत्व ग्रहण गर्ने गरेका छन् ।

Leave a Reply