जिल्लाको अन्नपूर्ण गाउँपालिका–१ दोवामा करिव ५ रोपनीमा फैलिएको गाँजा म्याग्दी प्रहरीले नष्ट गरेको छ । मानसिक सन्तुलन गुमाएजस्तै देखिने एक यूवाले खेतबारीमा, घरछेउछाउ खाली जमिनमा गरेको गाँजा खेती प्रहरी प्रनाउ उपरिक्षक महेन्द्रप्रसाद मरासिनीको नेतृत्वमा फँडानी गरिएको हो ।

बुधबार सार्वजनिक सुनुवाई कार्यक्रममा दोवामा पुगेका प्रहरीले सडक आसपासमै खेतबारीमै ढपक्कै गाँजा खेती गरेको देखेपछि तत्कालै प्रहरीले फँडानीसँगै जलाएर नष्ट गरेका थिए ।

‘गाँजा सेवन गर्ने जक्सन जस्तै रहेछ,‘एकजना यूवाको नियमित सेवन गरेर मानसिक सन्तुलन नै गुमेजस्तो छ’ प्रनाउ मरासिनीले बेनीअनलाइनलाई भने। उनले खोजतलास गर्दा घरभित्र गजडीहरूको जक्सन, नियमित सेवन गर्ने तथा विक्री वितरण समेत गर्ने गरेको बताए । उनले घरभित्र, बारीमै लुकाएर राखेको अवस्थामा समेत फेला पारेका बताए । सुकाएर राखिएको अवस्थामा भेटिको गाँजा समेत तत्कालै नष्ट गरिएको छ ।

उनले भुरूङ तातोपानी प्रहरी चौकीका प्रहरीले सोही आसपासका क्षेत्रमा फैलिएको गाँजा समेत स्थानीयको सहयोगमा नष्ट गरेको बताए । प्रहरीले बारीमा भेटिएको गाँजा प्राकृतिक रुपमा उम्रिएपछि त्यसलाई नै ब्यवसायीक बनाउन खोजेजस्तो देखिएको बताउँदै स्थानीय जनप्रतिनिधिलाई समेत गाँजाका बोट नष्ट गर्ने अभियानमा सघाउन अनुरोध गरेका छन् ।

प्रहरीले दोवा आसपासमा खेतबारीमै देखिएको गाँजा नष्ट गर्ने अभियान नै सञ्चालन गर्ने जनाएको छ । हरियो अवस्थामा रहेको गाँजा फाँडेपछि तत्कालै नष्ट गर्नुपर्छ । अन्य अन्नबालीसँगै ब्यवसायिक रुपमै गाँजाखेती गर्न थालेपछि म्याग्दी प्रहरीले अभियान नै सञ्चालन गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिमा खेतबारीमा फैलिएको गाँजालाई स्थानीयकै पहलमा नष्ट गर्ने गरिएको छ । मंगलाको अर्मनमा टोलटोलमै अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै क्षेत्रमा प्राकृतिक रुपमै फैलिएको गाँजा नष्ट गर्ने अभियानमा सहयोग गर्न समेत प्रहरीले अपिल गरेको छ ।

Leave a Reply