पर्यटकीय जिल्ला म्याग्दीमा पछिल्लो समय होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा लगानी गर्ने युवाहरुको संख्या बृद्धि हुँदै गएको छ। म्याग्दीमा आन्तरिक वा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि विदेशवाट फर्किएका वा विदेश जानका लागि राहदानी बनाएका युवाहरुले बाकसमा पासपोर्ट थन्काएर होटल क्षेत्रमा लगानी गरेका हुन् । होटेल क्षेत्रमा युवाहरुको आगमन बढ्दै गएपछि होटलको संख्या र लगानी त बढेको छ नै पाहुनाहरुका लागि सेवा र सुविधाहरु पनि थपिएका छन् ।

लाहुरेको जिल्ला भनेर परिचय बनाएको म्याग्दी जिल्लामा पछिल्लो समय युवाहरु बैदेशीक रोजगारिका लागि बनाएको पासर्पोट बाकसमा थन्काएर विदेश जान लाग्ने पैसा होटल व्यवसायमा लगानी गरेका छन् । पछिल्लो समय जिल्लामा बाह्य संगै आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछी होटल तथा रेष्टुरेन्ट संचालन गर्ने युवाहरुको संख्या पनि बढ्दै गएको हो ।

करिब ४ बर्ष कतारमा बसेर काम गर्दा राम्रो कमाई नभएपछी निराश भएर नेपाल फर्केका दीपक जिसीले रु ३५ लाख लगानीमा दुई जना साथी मिलेर बेनीको हस्पिटलचोका ब्रोदर फुट स्टेशन रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ । विदेशमा भन्दा आफ्नै ठाउँमा गरेको श्रम र लगानीले अहिले आफु सन्तुष्ट भएको र मनग्गे आम्दानी गर्न सफल भएको जिसीले बताउनुभयो । जिसीका अनुसार अहिले मासिक २ लाख भन्दा बढि कमाइ हुने गरेको छ ।

विदेश गएका साथीहरुले छुट्टिमा नेपाल आएको बेलामा सुनाएको दुःखको कहानीले विदेश जाने मोह छाडेर करिब ५० लाख लगानीमा बेनीको गणेशटोलमा ओल्ड हाउस एण्ड नेवारी किचन सञ्चालन गर्नुभएको छ सिसन श्रेष्ठले । श्रेष्ठले ५० लाखको लगानीमा संचालन गरेको ओल्ड हाउस एण्ड नेवारी किचन छोटो समयमा नै प्रशस्तै आम्दानी गर्न सफल भएको छ । ७ जनाले रोजगारी पाएका छन् । श्रेष्ठले रेष्टुरेन्टबाट मात्रै सबै खर्च कटाएर मासिक ४ लाख रुपैयाँ आम्दानी गर्दै आउनुभएको छ । विदेश जाने लगानीले नेपालमा नै केही गरेपनी त्यहाँ कमाउने पैसा यही कमाउन सकिने श्रेष्ठको भनाइ रहेको छ ।
म्याग्दीमा २५ बर्ष पहिलेदेखि संचालन हुँदै आएका होटलहरुले समेत राम्रो कमाइ गर्न सफल भएका छन् । पछिल्लो समयमा म्याग्दीमा होटलहरु बढ्दै जादा गुणस्तर र पाहुनाहरुलाई दिइने सुविधामा समेत बृद्धि हुदै गएको बताउनुहुन्छ बेनीमा २५ वर्षदेखि संचालन हुँदै आएको होटल यतिकी संचालिक विमला गौचन ।

बेनीमा मात्र अहिले करित २ सय भन्दा बढी होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा रहेका छन् । यी सबै होटलहरुमा अनुमानित १० अर्व भन्दा बढीको लगानी रहेको छ । यी सबै होटलहरु मुस्ताङको भरमा थामिएका छन् । २ सय होटलमा करिब ३ दर्जन होटलहरु युवाहरुले नै सञ्चालन गरेका छन् ।

म्याग्दीमा एक दिन सम्म पर्यटनहरुलाई म्याग्दीका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर अढाउन सकेमा म्याग्दीको आर्थिक विकाससंगै होटल व्यवसायीहरु बढ्ने सम्भावना रहेको होटल तथा रेष्टुरेन्ट व्यावसायी संघका अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) ले बताउनुभयो ।युवाहरुको व्यावसायप्रतिको लगावलाई कम हुन नदिन उनीहरुलाई आवश्यक सहयोग,तालिम र उचित वातावरणको व्यवस्था गरिदिन आवश्यक देखिएको सरोकारवालाहरुको भनाइ रहेको छ ।

Leave a Reply