बाग्लुङ र पर्वत जोड्ने दक्षिण एशियाकै लामो झोलुङ्गे पुलको निर्माण सुरु भएको छ । कृषि तथा पर्यटकीय गतिविधि बढाउन उपयोगी हुने ठानिएको पूल आन्तरिक तथा बाह्य अबलोकनकर्ताका लागि पनि रोमाञ्चक हुने अपेक्षा छ । बाग्लुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवावारी जोड्ने ५ सय ६७ मिटर लामो र झण्डै १ सय २२ मिटर अग्लो पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

बजेट अभाव तथा स्थानीयको अवरोध नभए २०७७ असारमा पुल निर्माण सक्ने लक्ष्य छ ।
नेपाल सरकारले चिनियाँ प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैयाँ बजेट दिएपछि पुल निर्माणको काम अगाडि बढेको हो ।

अन्य पुलहरु भन्दा लामो तथा जटिल हुने भएकाले बढी समय दिइएपनि लगातार काम गरे डेढ बर्षमा नै सम्पन्न हुने सस्पेन्सन ब्रीज डिभिजन कार्यालयले जनाएको छ । दुई जिल्ला जोड्ने पुल निर्माण भएपछि कृषि र पर्यटकीय क्षेत्रको विकाससँगै आर्थिक स्तर अभिबृद्धिमा सहयोग पुग्ने स्थानीयको विश्वास छ ।

बागलुङ बजारबाट पाङ पुग्न पैदलमार्ग मार्फत डेढ घण्टा लाग्ने भएपनि पुल निर्माण भएपछि पन्ध्र मिनेटमा नै पुगिने छ । कालिगण्डकी नदी, मध्यपहाडी लोकमार्ग तथा कालिगण्डकी करिडोर माथि बन्ने भएकाले पुल पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ । news24 nepal.tv

Leave a Reply