यहाँको एक गाउँपालिकाले रासायनिक विषादीको प्रयोगलाई निरुत्साहित गदैं किसानलाई जैविक तथा प्राङ्गारिक खेती सम्बन्धी सचेतनामुलक गोष्ठी गरेको छ । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले शुक्रबार आयोजित एक दिने गोष्ठीमा गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जमिनको उर्वरता बढाउन जैविक विषादी र मलको प्रयोग गर्नुपर्ने बताए । सरकारी निकायबाटै अनुदानको नाममा रासायनिक मलको प्रर्वधन गर्ने गरिएको गुनासो समेत गरे ।

गाउँपालिका भित्रका कृषकलाई जैविक विषादी बनाउने तरिका सहित तालिम तथा स्थलगत रुपमै पुगेर समेत प्राविधिक सहयोगको योजना बनाइएकाले आगामी दिनमा रासायनिक प्रयोग घटाउँदै लैजाने बताए।  गोष्ठीमा प्रशिक्षक पुस्पराज सापकोटाले स्थानीय तहबाटै प्राथमिकतामा परेको जैविक विषादी सहितको अभियानलाई किसानले साथ दिनुपर्ने बताए ।

त्यस्तै अर्का प्रशिक्षक प्रदिप घिमिरेले विषादी बनाउने तरिका, प्रयोको विधिका बारेमा जानकारी गराएका थिए । प्रशिक्षक सुरज घिमिरेले प्राङ्गारिक कस्पोट बनाउने तरिकाका बारेमा जानकारी गराउँदै मंगलामा सुरु भएको मल बनाउने विधिलाई अन्य स्थानीय तहले समेत सिक्न सक्ने बताए ।

गोष्ठीको अवसरमा बोल्दै रेशम बुढाथोकी, सुविता आचार्यले स्थानीय स्रोतबाट जैविक मल, जैविक विषादी, नर्सरी निर्माण, बिरुवा रोप्ने तरिका तथा ब्यवस्थापनका बारेमा जानकारी पाएपछि प्रयोगमा सहज हुने बताएका थिए । सोही अवसरमा कृषि प्राविधिक तारा बानियाँले तरकारीमा बढी विषादी प्रयोग गर्दा मानिसको स्वास्थ्यमा खेलवाड भएको भन्दै स्थानीयस्तरमै मल उत्पादन गर्ने विधिलाई प्रयोगका बारेमा किसानलाई प्रतिबद्धता ब्यक्त गर्न लगाइएको बताए । गाउँपालिकाले गतबर्षदेखि नै अर्गानिक र जैविक मलको प्रयोग सुरु गरेको थियो ।

Leave a Reply