बेनी नगरपालिका–३ भकिम्लीमा शनिबार आयोजित घुम्ती शिविरमा साढे ५ सय विरामी लाभान्वित भएका छन् । बेनी नगरपालिकाको आयोजना र बेनी अस्पताल म्याग्दीका प्राविधिक सहयोगमा आयोजित शिविरमा भकिम्लीका विभिन्न बस्तीबाट बालबालिकादेखि बृद्धबृद्धाले प्रत्यक्ष रुपमा सेवा लिएका थिए । ‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच, सबैका लागि स्वास्थ्य’ भन्ने मूल नारासहित सञ्चालित बृहत तथा निःशुल्क स्वास्थ्य शिविरबाट महिला ४ सय ९ र पुरुष १ सय १९ जनाले उपचार गराएको बेनी नगरपालिकका प्रबक्ता रामकृष्ण बराईलीले बताए ।

उनका अनुसार शिविरमा भिडियो एक्सरे १०८, सुगर परीक्षण ९९ र २९ जनाले दन्तसम्बन्धी सेवा लिएको बताए । बेनी नगरपालिकाले चालु आवमा बेनपा, ३, ४ र ९ मा स्वास्थ्य शिविर सञ्चालन गर्न ८ लाख बजेट विनियोजन गरिएको थियो । शिविरमा ६९ जना महिलाको पाठेघरको भिआइए जाँच (क्यान्सर रोगको परीक्षण) गरिएको छ ।

बेनी अस्पताल म्याग्दीका क्लिनीकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीको नेतृत्वमा डाक्टर, स्वास्थ्यचौकी तथा बेनी अस्पतालकास्वास्थ्यकर्मी सहितको स्वास्थ्यकर्मीहरुको टोलीले बिरामीलाई उपचार सेवा उपलब्ध गराएको थियो । पछिल्लो समय सुगरका रोगीहरु बढ्दै गएको देखिएको हुँदा खानपिनमा ध्यान दिनुपर्ने, शारिरीक व्यायाम गर्नुपर्ने र नियमित रुपमा औषधी सेवन गरेको खण्डमा सुगर रोगलाई न्युनीकरण गर्न सकिने बेनी अस्पतालका डा. बस्ताकोटीको भनाइ छ ।

बेनी नगरपालिकाले सदरमुकाम बेनी बाहेक अन्य वडाका जनतालाई ग्रामिण क्षेत्रमै अत्याधुनिक सुविधा सहितको सेवा उपलब्ध गराउने गरी शिविर सञ्चालन गरेको जनाएको छ । स्वास्थ्य शिविरमा बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवाल, शिक्षा तथा सामाजिक विकास संयोजक गोविन्द प्रसाद पौडेल, बेनपा ३ का वडा अध्यक्ष पदम पुन लगाएतका जनप्रतिनिधिको उपस्थिीति रहेको थियो ।

Leave a Reply