बेनी नगरपालिका–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केरा खेती गरेका छन् । धान, गहुँ, मकै बालीको विकल्पमा यहाँका कृषकले  खेतका गह्रा गह्रामा व्यावसायीक रुपमा केरा खेती गरेर आय आर्जन गर्ने माध्यम बनाएका छन्। अन्नबालीलाई जस्तो धेरै मेहनत र श्रम खर्च गर्नु नपर्ने र आम्दानी पनि बढि हुने भएकाले धान फल्ने खेतमा केरा खेती गरिएको कृषकहरुले बताएका छन् ।

केही वर्षअघिसम्म परम्परागत खाद्यान्न खेती हुने बगरफाँट अहिले केराको बगैचामा परिणत भएको छ । अनुकूल हावापानी, वातावरण, बजारको सुविधा र छिटो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक केरा खेतीतर्फ आकर्षण बढेको कृषक खिमवहादुर कार्कीले बताउनुभयो। कार्कीले  खेतका गह्रामा २ सय ५० ओटा केराका विरुवा लगाउनुभएको छ ।त्यसैगरी अर्का कृषक भीमबहादुर कार्कीले पनि गुडुराको धान फल्ने ४ रोपनी खेतमा केराका विरुवा लगाउनुभएको छ । ‘खेती गर्न झन्झटिलो हुने,कम उत्पादन हुने,खर्च बढि हुने र  काम गर्ने मान्छे पनि नपाइने हुँदा खेतै भरी केरा लगाएको हुँ, कार्कीले भन्नुभयो ।

‘यहाँका सबै कृषकले केरा खेती गरेका छन्,गाउँको करिब ९  हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ । कार्कीले भन्नुभयो ‘अबको दुई वर्ष पछि बगरफाँट केराफाँटमा परिणत हुने भएको छ । करीब २० जना कृषकले बगैँचा नै बनाएर व्यावसायिक केराखेती गरेका छन् । दश पन्ध्र घारी केरा नलगाएको घरनै छैन् । अम्बिका शर्मा,सरिता शर्मा,चन्द्रवहादुर घिमिेरे,कृष्णप्रसाद रिजाल,भीमबहादुर कार्की लगाएतका कृषकले धानफल्ने खेतमा नै केरा खेती विस्तार गरेका छन् ।

मजदूर अभावमा खाद्यबाली हुने जमीन बाझिन थालेको अवस्थामा केराखेती प्रभावकारी विकल्प बनेको स्थानीयवासी कृष्णप्रसाद रिजालले बताउनुभयो ।एक वर्ष अघि गत वर्षको जेठमा यहाँका कृषकले करिब २ हजार केराका विरुवा लगाएका छन् । पकाएकोप्रति १२ कोसा एक सय रुपैयाँका दरले बिक्री हुने गरेको छ । एउटै घारीबाट एक हजार कोसासम्म उत्पादन लिन सकिने कृषकहरुले बताएका छन् । बिरुवा लगाएको डेढवर्षमै उत्पादन लिन सकिन्छ । उत्तरतर्फ फर्किएको पाखोमा अवस्थित बगरफाँटको हावापानी केराखेतीका लागि अनुकूल मानिन्छ ।

बेनी नजिकै भएकाले कृषकलाई बजारको समस्या छैन् । बगरफाँटमा केरा उत्पादन हुन थालेपछि बेनीमा बाह्य जिल्लाबाट केराको आयात घट्ने फलफूल व्यापारीहरुले बताएका छन् । बेनी नगरपालिकाले बगरफाँट र खबरालाई केरा गाउँ बनाउने लक्ष्यसहित ‘एक वडा एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको वडा सदस्य चन्द्रवहादुर कुवँरले बताउनुभयो । केराखेतीसम्बन्धी कार्यक्रमका लागि यसवर्ष पनि रु तीन लाख विनियोजन भएको छ ।

Leave a Reply