बेनी नगरपालिका–५, पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर जनकल्याण मावि अक्षयकोषको अनावरण गरिएको हो। विद्यालयको शैक्षिक विकाससँगै कक्षा ११ र १२ सञ्चालन गर्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ ।

माथिल्लो कक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउन र अध्यापन गराउने शिक्षकको व्यवस्थापनका लागि अक्षयकोषको अवधारणा ल्याइएको अक्षयकोषका सचिव एवं विद्यालयका शिक्षक शिव बानियाँले जानकारी दिए । अक्षयकोष दर्ता गरेको १ महिनाको अवधिमा मात्रै हालसम्म १३ लाख २४ हजार नौसय १८ रुपैयाँ सङ्कलन भैसकेको छ।

अक्षयकोषमा व्यक्तिगत रुपमा भूतपूर्व वडा अध्यक्ष ८५ वर्षीय ज्येष्ठनागरिक दधिलाल पौडेलले सबैभन्दा धेरै एकलाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् । यसैगरी देउपूर्ने आँटी सामुदायिक वन पुलाचौरबाट पाँचलाख रुपैयाँ सहयोग भएको छ । एक करोड रुपैयाँ पु¥याउने लक्ष्यसहित सुरुवात गरिएको अक्षयकोषबाट प्राप्त व्याजले विद्यालयको शैक्षिक विकासमा खर्च गरिने अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।

अक्षयकोष अनावरण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले समयको परिवर्तन र माग अनुसार प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुपर्ने बताए । उनले विद्यालयको विकासमा सरोकारवाला सबै एक भएर लाग्नुपर्ने बताउँदै शैक्षिक विकासका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताएका छन् ।

बेनपा–५, का वडा अध्यक्ष तथा विद्यालयका पूर्व शिक्षक लक्ष्मण बानियाँ र विद्यालयका पूर्व अध्यक्ष एवं म्याग्दी बहमुखी क्याम्पस सञ्चालक समितिका सदस्य हेमराज शर्माले छोटो समयमा नै विद्यालयले प्रगति हासिल गरेको बताउँदै विद्यालयको समग्र विकासमा सबैको सहयोग आवश्यक रहेको बताए ।कार्यक्रममा पूर्व गाविस उपाध्यक्ष भोजबहादुर कार्की, विद्यालयका भूपू कोषाध्यक्ष समेत रहेका दानदाता दधिलाल पौडेल, भूपू अध्यक्ष गणेशबहादुर हमाल र शिक्षक अभिभावक संघका पूर्व सदस्य थ्रीलाल सुवेदीले मन्तव्य राखेका थिए । कार्यक्रम अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, उपाध्यक्ष नरबहादुर विकको स्वागत र सचिव शिव बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply