म्याग्दीका सुजन चोखाल सिनियर भलिबलको राष्ट्रिय टोलीमा छनौट

बेनी नगरपालिका–९ घतान काउलेगौंडाका सुजन चोखाल एशिया भलिबल च्याम्पियन अन्तरगत सिनियर भलिबलको राष्ट्रिय टोलीमा छनौट भएका छन् । अगामी श्रावण महिनाको ३२ गतेदेखि भाद्र ८ गतेसम्म काठमाण्डौमा आयोजना हुने प्रतियोगितामा गण्डकी प्रदेशबाट चोखाल छनौट भएका हुन् ।

८ औ राष्ट्रिय खेलकुदबाट छनौट हुनेमा चोखालसँगै गण्डकी प्रदेशबाट योगेन गुरूङ रहेका छन् । प्रदेशस्तरीय खेलमा उत्कृष्ट प्रर्दशन गरेकै कारण लगातार दुईवटा राष्ट्रिय खेलकुदमा सहभागी भएका चोखालले राष्ट्रिय भलिबल टोलीबाट खेल्ने लक्ष्य रहेको बताउँदै आएका थिए । गण्डकी प्रदेशबाट सिनियर भलिबल टोलीमा समावेश हुने चाहनालाई थप बलियो बनेको भलिबल प्रशिक्षक तेजेन्द्र बानियाँले बताए ।

काउलेगौंडा यूवा क्लव(केवाईसी)का क्याप्टेन समेत रहेका चोखालले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट क्षेत्रीय टोलीमा छनौट भएका चोखालले साविकको पश्चिमाञ्चलस्तरीय टोलीबाट दुई दर्जनको हाराहारीमा राष्ट्रियस्तरका प्रतियोगितामा सहभागि भएका छन् भने हालै सम्पन्न आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत गण्डकी प्रदेशबाट उत्कृष्ट खेल प्रर्दशन गरेका थिए ।

गतबर्ष सोलुखुम्बुको नाम्चे बजारमा आयोजित सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगितामा ब्यवसायीक खेल खेल्न हेलिकप्टर चढेर नाम्चे पुगेका थिए ।सेटरको भूमिकामा मैदानमा देखिने चोखालले भलिबल खेलाडीको रुपमै स्थापित हुने चाहना भएपनि ब्यवसायीक खेलले घरखर्च धान्नै मुस्किल हुने गरेको बताए । ‘भलिबल खेलबाटै जिल्लाको नाम चिनाउन चाहन्छु,‘बिना तालिम पनि धेरै प्रतियोगितामा राम्रो खेल्न सफल भएको छु’ चोखालले भने।