मोनाको तेस्रो महाधिवेशन पर्यटकीयस्थल घोरेपानीमा हुने

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यकारी समितिको (मोना) को तेस्रो महाधिवेशन जिल्लाकै प्रमुख पर्यटकीयस्थल घोरेपानीमा हुने भएको छ ।  विश्वमै प्रख्यात घोरेपानी, पुनहिल सहित जिल्लाको पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उदेश्यका साथ आगामी अक्टोबर महिनामा हुने महाधिवेशनको तयारी सुरू भएको मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाले बेनीअनलाइनलाई बताए। ‘घोरेपानीमा हुने कार्यक्रमलाई भब्य बनाउन स्थानीयको समेत सहयोग हुन्छ,‘तयारीमा जुट्ने गरी उपसमितिहरू बनाउँदैछौ’ अध्यक्ष थापाले भने ।

उनका अनुसार महाधिवेशनको तयारीका लागि अन्नपूर्ण गाउँपालिका अध्यक्ष डम बहादुर पुन र घोरेपानी टोल सुधार समिति, स्थानीय जनप्रतिनिधिहरूसँग समेत छलफल सुरु भएको बताए । पर्यटकको चाप हुने समय भएपनि स्थानीयले महाधिवेशनका लागि बसाई सहित आवश्यक तयारीमा सहयोगको प्रतिबद्धता जनाएको अध्यक्ष थापाको भनाई छ । मोना आइसीको पहिलो अधिवेशन सदरमुकाम बेनी, दोस्रो पश्चिम म्याग्दीको दरबाङ र तेस्रो अधिवेशनलाई उत्तरी क्षेत्रमा गर्दा प्रवासमा रहेका म्याग्देलीहरुलाई समेत जिल्लाभित्रको पर्यटकीय क्षेत्रका बारेमा प्रचारप्रसार हुने बताए ।

महाविधेशनका लागि मोनाले विभिन्न उपसमिति सहित आवश्यक तयारीसँगै स्थलगत रुपमै घोरेपानीमा पुगेर समेत छलफल गर्ने योजना बनाएको मोना आइसीका महासचिव मिम पूर्जाले बताए । महाधिवेशनमा विश्वभर रहेका मोनाका राष्ट्रिय कार्यसमितिको तर्फबाट प्रतिनिधित्व हुने छ । यसैबीच मोना, बेनी नगरपालिका र म्याग्दी उद्योग वाणिज्य संघको त्रिपक्षिय लगानीमा निर्मित लभ्ली हिल पदमार्गको समेत अन्तिम रुप दिने गरी कामलाई तिब्रता दिइएको छ ।

महिला तथा बालबालिकालाई सघाउने उदेश्यले स्थापना भएको अक्षयकोषको जिल्ला प्रशासन कार्यलय म्याग्दीमा दर्ता गरीएको छ । ‘महिला तथा बालबालिका ट्रस्ट’ नाम दिइएको अक्षकोषको खाता प्रभु बैंकको बेनी शाखाबाट संचालनमा ल्याइएको छ । अक्षयकोषको खाता नं ०९५००१०१२६७४०६०००००१ रहेको कोषका किसान जिसीले बताए ।