मंगलाका सबै वडामा एभोकाडाको ब्यवसायीक खेती गरिने

जिल्लाको मंगला गाउँपालिकामा पहिलोपटक एभोकाडाको ‘ब्यवसायीक खेती तथा नर्सरी ब्यवस्थापन’ विषयक तालीम सुरू भएको छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना रहेको स्वास्थ्यका दृष्टिले निकै लाभदायक मानिने एभोकाडाको खेतीमा किसानलाई आर्कषित गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक तथा मञ्जुश्री नर्सरी हाउसको ब्यवस्थापनमा बावियाचौरमा तीनदिने तालिम सञ्चालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले तरकारी तथा फलफुल खेतीबाट छोटो समयमै मनग्य आम्दानी गर्न सकिने भएकाले तालिम अनुसार ब्यवसायीक खेतीमा सक्रिय हुनेलाई अनुदान समेत दिइने बताए । गाउँपालिका भित्रका सबै बस्तीको माटो परिक्षण गरी अनुकुल अनुसारका फलफुल खेतीलाई प्राथमिकता दिएको बताए । उनले १ हजार एभोकाडाका बिरुवा अनुदानका रुपमा उपलब्ध गराउने बताए ।

गाउँपालिका भित्रका सबै बस्तीमा एभोगाडा खेती गरी पाँचबर्षभित्र जिल्ला बाहिर निर्यात गर्ने उनले बताए । एभोकाडो विज्ञ जीवनप्रसाद राईले पछिल्लो समयमा एभोकाडो फलप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको बताए ।समुद्री सतहबाट दुई हजार ५०० मिटरसम्म यसको खेती गर्न सकिन्छ। नगदे फलका रुपमा पनि मानिने विज्ञ राईको भनाई छ ।

बिरुवा रोपेको ४ देखि ६ बर्षभित्रै उत्पादन दिने भएकाले पनि पाखोबारी, कान्ला र खोला छेउमा एभोकाडो रोपेर नियमित आम्दानीको स्रोत बनाउन मञ्जुश्री नर्सरी हाउसले गाउँपालिकासँग सहकार्य गरेको सञ्चालक पुस्कर विकले बताए ।नेपालीमा एभोकाडोलाई ‘घिउ’ फल भनेर चिनिने गरेको उनले बताए। एभोकाडाले फल दिन थालेपछि ५० वर्षसम्म एउटै बिरुवाले फल दिइरहने उनले बताए ।

तालिममा ७ वटै वडाका ३५ जना किसानको सहभागी छन् । बुधबार सम्पन्न हुने तालिममा गाउँपालिका उपाध्यक्ष सिर्जना केसी, वडा अध्यक्ष धनबहादुर खाती लगाएत वडाका जनप्रतिनिधि सहभागी थिए । तालिमको अवसरमा मंगला माविका कृषि विषयमा अध्ययरत विद्यार्थीले समेत प्रयोगात्मक अभ्यासमा सहभागीता जनाएका थिए ।