गण्डकीका गन्तब्यमा म्याग्दीका यी पर्यटकीय तथा धार्मिकस्थल समेटिए

गण्डकी प्रदेश सरकारले १ सय १० वटा पर्यटकीय गन्तव्यहरु सार्वजनिक गरेको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाभित्रबाट पर्यटकीय गन्तब्य छनौटमा म्याग्दीमा महत्वपूर्ण पर्यटकीय तथा धार्मिकस्थल समेत समावेश गरिएको छ ।

प्रत्यक जिल्लाका १०–१० वटा पर्यटकीय गन्तव्यहरुको पहिचान गरिएकोमा म्याग्दीका धार्मिकस्थल गलेश्वरधाम, पुलस्त्याश्रम, जगन्नाथ मन्दिर, पुला ढोलठाना, टोड्केधुरी, धौलागिरी वेस क्याप, धौलागिरी आइसफल, घोरेपानी, पुनहिल मालिकाधुरी, रुप्से छहरा र अन्धगल्छी, खोप्रा लेक र सिंगा तातोपानी रहेका रहेका छन् ।

म्याग्दीका पर्यटकीयत तथा धार्मिकस्थलमा पहिलोपटक बेनी नगरपालिका ५ पुलाचौरमा अवस्थित एतिहाँसिक पुलस्त्यपुलह आश्रम, जगन्थान, ढोलठान समोवश भएका छन् । त्यस्तै पहाडको चुचुरोमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल मालिकाधुरी समेत गण्डकी प्रदेशभित्रको पर्यटकीय गन्तब्यमा परेको छ ।

प्रदेश सरकारले समावेश गरेको रुप्से झरना, अन्धगल्छी, पुनहिल, घोरेपानी र गलेश्वरधाम, खोप्रा बाहेक अन्य पर्यटकीयस्थल तथा धार्मिकस्थल र प्राकृतिक उपचार केन्द्रको रुपमा चिनिएको तातोपानीलाई समेत गन्तब्यका रुपमा राख्नुका साथै पूर्वाधारको समेत आवश्यकता रहेको पर्यटन ब्यवसायीको भनाई छ ।

‘पर्यटकीय गन्तब्यमा पूर्वाधारको समेत आवश्यकता छ,‘म्याग्दीमा धेरै गन्तब्यहरूलाई पहिचान गरी पूर्वाधारका प्रदेशबाटै बजेट आवश्यक छ’ पर्यटन ब्यवसायी ताराप्रसाद आचार्य ‘बाबुराम’ले बताए । म्याग्दी होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका अध्यक्ष समेत रहेका आचार्यले पर्यटनको क्षेत्रमा बजेटले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति, पर्यटन व्यवसायी, प्रदेश सांसद, गाउँपालिका, महानगर, स्थानीय तहका जनप्रतिनिधिहरू एवं सरोकार पक्ष सँगको छलफल र अन्तरक्रियाबाट प्रदेशका पर्यटकीय गन्तव्यहरुको छनौट गरिएको बताइएको छ । गण्डकी प्रदेशले आन्तरिक पर्यटन वर्ष सन् २०१९ मा १५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ यस बर्ष एक सय १० वटा पर्यटकीय गन्तव्यहरु पहिचान गरी घोषणा गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको भनाई छ ।