गण्डकी प्रदेशस्तरीय प्रथम जुनियर उसु च्याम्पियनसिप–२०१९ बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको छ। जिल्ला उसु संघ म्याग्दीको आयोजनामा सञ्चालित प्रतियोगितामा गण्डकी प्रदेशका जिल्लास्तरका टिमको सहभागिता रहेको छ । २० स्वर्ण पदकको लागि बिहीबार भएको प्रतियोगितामा उद्घाटनपछि थाउलु विधातर्फको प्रतिस्पर्धा अन्तरगत ६ वटा स्वर्ण पदकको खेल सकिएको जिल्ला उसु संघ म्याग्दीका सचिव विकल कँडेलले बताए ।

?

कँडेलका अनुसार बिहीबारको प्रतिस्पर्धामा म्याग्दीले ३ स्वर्ण २ रजत र एक कास्य र बागलुङले ३ स्वर्ण र ३ रजत पदक हात पारेका छन् । मुस्ताङले भने एक रजत र तीन कास्य पदक हात पारेको छ ।प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै विश्वकर्माले खेलकुद क्षेत्रलाई अनुशासित बनाउनुपर्नेमा जोड दिए । विश्वकर्माले खेलकुदका निर्णायकहरुले सही निर्णय गरेमा कसैले पनि कुनै खेलकुदमाथि औंला नउठ्ने बताएका छन् ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले म्याग्दीमा पहिलोपटक प्रदेशस्तरीय उसु प्रतियागिता आयोजना गरेर खेल पर्यटन विकासको क्षेत्रमा उसु संघ म्याग्दीले योगदान गरेको बताए । उनले खेलाडी तथा निर्णायकहरुलाई म्याग्दीका पर्यटकीय स्थलहरुको भ्रमण गरेर फर्कन समेत आग्रह गरेका छन् । जिल्ला उसु संघ म्याग्दीको कार्यवाहक अध्यक्ष अमृत बास्कुनेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उसु संघ म्याग्दीका सदस्यद्वय दिपेन राईको स्वागत र आशामाया रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply