दुरालेक एउटा नयाँ र सुन्दर गन्तब्य (यात्रा संस्करण)

(इश्वर शर्मा) पश्चिम म्याग्दी स्वर्गको रुपमा परिचित दुधलेक/दुरालेक समुन्द्री सतह देखि करिव ३४०० मिटरको उचाईमा अवस्थित छ। मालिका गाउँ पालिका वार्ड नं २ रुम म्याग्दी बाट दुरालेक पुग्ने भिन्न भिन्न बाटो रहेका छ्न। पहिलो मा दम्सिलेक ढुङ्गाखानी हुँदै दुरालेक, दोस्रो भिरखर्क घाङ्ग्लेपानी हुँदै दुरालेक भने उता बाग्लुङ्ग बाट दुरालेक सम्मको यात्रा तय गर्न  लुकरबन खोलाखर्क ताराखोला हुँदै पनि आउन सकिन्छ।

दुरालेकमा म्याग्दी जिल्लाको अलवा बाग्लुङ्ग जिल्लाका ताराखोला लुकरबन खोलाखर्क बुर्तिबाङ्ग भेग बाट समेत आउने गरेको पाईयो। हामीले सजिलोको लागि म्याग्दी अन्तरगतकै दोस्रो बाटो रोज्यौ।हामी बानी बिग्रेका गाउँलेलाई भने घाङ्ग्लेपानी बाट मात्रै ४ घन्टाको समय लाग्दोरहेछ।

घाङ्ग्लेपानी सम्म जिपको यात्रा तय गरेका हामी त्यहा बाट बिहान ७ बजे पैदल उकालो लाग्यौ भने दुरालेकको धुरी मा पुग्दा घडिले बिहानको ११ बजाईसकेको थियो।त्यहाँ पुग्दाको क्षण यहाँ शब्दमा बयान गर्न सकिँदैन जत्ती लेखेपनी फिक्का नै हुन्छ त्यस्तो अद्भुत अनुभुव हुदो रहेछ अझ धुरिमा हावाले फहराईरहेको राष्ट्रिय झण्डा देख्दा झन अचम्म सङ्ग राष्ट्रियता सवार हुने हैछ मनमा।

धुरिमा पुग्नको लागि हिड्दै गर्दा रात्पाले गुलाबी रङ्गले पोतिदिएको जंगलको बाटो हिड्दा कता कता अर्कै संसारमा पुगेझै लाग्दो रहेछ बिस्तारै धुरी आउन आउन लाग्ने बेलामा भने हामिलाई सेताम्य बनाएर सारा जंगलनै चिमालिले स्वागत टक्र्यायो। धुरिमा पुग्न साथ हामिले दायाँबायाँ केही नसोची त्यहाँ बाट देखिने मनोरम दृश्य हेर्नमा मग्न थियौ तर दुरालेकको बिशेषता आफ्नो सौन्दर्य सित्तिमित्ती धेरैबेर देखाउने हैन रहेछ फल स्वरुप वरिपरि कुहिरोले ढपक्कै ढाकिदियो।अनि हामी पनि धुरिमा दोहोरिमा रम्दै खाजा खान लाग्यौं ।

मुख्यत बैशाख १ गते नया बर्ष को दिन यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या उल्लेख्य रहने गरेको स्थानिय बासिन्दा बताउँछन। यहाँ बाट बाग्लुङ्ग पर्वत कास्की जिल्लाको नौडाँडा पोखरा सम्म स्पष्ट देख्न सकिन्छ तर साथमा दुरबिन भने हुनु पर्छ।।सजिलो सङ्ग नाङ्गै आँखाले पनि खोलाखर्क तमान लुकरबाङ्ग निस्कोट ताराखोला त्यसैगरी धौलागिरी हिमश्रींखला अन्तरगतका हिमालहरु सजिलै आँखै अगाडि भेट्न सकिन्छ।

हामीलाई हिँड्दै गर्दा तलमाथि हेर्न भ्याईनभ्याई थ्यो माथी गुराँसले मलाई नै हेर भनिरहेको थ्यो भने भुईमा फगराज फुललाई नहेरी अगाडि बढ्नै सकिदैनथ्यो। दुरालेकमा उच्च पहाडी तथा हिमाली भेगमा मात्र पाईने सेतो गुराँस(स्थानिय भाषामा चिमाली खास मा चिमिनो) गुलाबी गुराँस (स्थानिय भाषामा रात्पा) , लसुने साग , ढोकायो , चन्चने साग  प्रशस्त पाउन सकिने रहेछ।

त्यसै गरि हिमाली भेगमा मात्र पाईने बहुमुल्य जडिबुटी सत्तुवा पनि प्रशस्त पाउन सकिने रहेछ। अधिकाशं मानिसहरु अघिल्लो दिनमै पुगेर रातको बसाई लेकमा नै बसेर भोलिपल्ट् त्यहाँ बाट देखिने सुर्योदय एब मनोरम दृश्यावलोकन गर्ने रहेछ्न।

तर हामीभने जागिरे मानसिकताको साँघुरो मानसिकता बाट टाढा हुन सकेनौ फलस्वरूप एकैदिनमा त्यहा पुगेर फर्किनको नै हतारमा थियौं ।यतिबेलाको सिजन अनुसार लसुने साग ढोकायो चन्चने साग लिन जानेको उपस्थिति बाक्लै देखियो।अघिल्लो दिनमा गएर बास बस्ने र भोलिपल्ट साग टिप्दै डोको र बोरा मा राख्दै ओरालो लाग्नेहरु बाटोमा प्रशस्तै भेटिने रहेछ्न। माथि खान बस्नको कुनै सुविधा उपलब्ध नहुने भएकोले आफुलाई चाहिने सम्पुर्ण सामाग्री स्वयम आँफुलेनै ब्यवस्था गर्नु पर्ने रहेछ।ठ्याक्कै माथि लेकमा पानी को सुविधा नभए तापनी करिव आधा घण्टा तल मन्दिर सम्म भने पानि पाउन सकिन्छ।

त्यहा पुग्ने मानिसलाई सजिलो होस भनी बेलुका बास बस्नको लागि गोठको पनि ब्यवस्था गरिएको रहेछ।हामी पनि बिस्तारै साझ ढल्किदै गर्दाको बखतमा फेरि ओराले झर्ने तैयारिमा लाग्यौं, फर्कदै गर्दा आफुलाई चाहिए जत्ती लसुने साग टिप्दै फर्किन लागिरहेका साथिहरुलाई वास्ता नगरी म भने चिमाली रात्पा र फगराज फुल टिप्न मग्न थिए।एउटा राम्रो पर्यटकिय गन्तव्य बन्न सक्ने संभावना भएको दुरालेक स्थानिय सरकार एब स्थानिय बासिन्दाकै छाया मा परेको सजिलै सङ्ग अनुभव गर्न सकिन्छ।।

पर्याप्त प्रचारप्रसार पनि नपाएको हो कि भन्ने दुबिधा अझैपनी मन मा रहिरहेको छ दुरालेकले।कम्तिमा पनि लेकसम्म पुग्ने बाटो अझ सहज सजिलो लेकमा प्रकृति मैत्री लज भ्यु टावरको निर्माण बस्ने आराम गर्ने उचित आश्रय स्थल बिजुली बत्तिको ब्यवस्था गर्न सकिएको खण्डमा सिङ्गो मालिका गाउँ पालिकाले गौरब गर्ने ठाँउ बन्न सक्ने ल्याकत राख्दछ दुरालेक।