म्याग्दीमा ४३ जना नयाँ क्षयरोगी भेटिए

म्याग्दीमा यसबर्ष ४३ जना नयाँ क्षयरोगी फेला परेका छन् । हावाबाट सजिलै सर्ने रोग नङ, कपाल र दाँत बाहेक अन्य विभिन्न भागमा हुने क्षयरोगीको पहिचान गर्ने क्रममा जिल्लाका ६ वटै स्थानीय तहमा गतबर्षको साउन महिनादेखि यसबर्षको बैशाखसम्म ४३ जना नयाँ भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

क्षयरोगी पहिचान तथा उपचारका विधि बारे सदरमुकाम बेनीमा आयोजित कार्यक्रममा गतबर्ष ५६ जनाको उपचार गरिएको स्वास्थ्य कार्यालय प्रमुख भिमप्रसाद आचार्यले बताए । उनले उनका अनुसार जिल्लाभित्र अझै २४ जना रोगी रहेको अनुमान गरिएको बताए । निशुल्क पाईने औषधी स्वास्थ्यकर्मीको निगरामीमा डट्स प्रविधिको गरेर उपचार गर्नुपर्ने उनको भनाई छ।

जिल्लाका ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी रोगी पहिचान, खकार परिक्षण, उपचारका प्रकार, तथ्याङ्क तथा सीप विकास लगाएत विभिन्न जानकारी दिने गरी दुईचरणमा तामिल समेत सम्पन्न गरिएको छ । नियमित औषधि खानुपर्नेमा बिचमा औषधि छोडेर पुनः बल्झिएर उपचारमा आउने गरेको बताउँदै जनचेतनामुलक कार्यक्तमलाई समेत प्राथमिकता दिनुपर्ने स्वास्थ्य कार्यालयका सुपरभाईजर मनिष महतोले बताए ।

उनले फोक्सो, ग्रन्थी, हड्डीका साथै पेटमा देखिएपनि फोक्सो र घाँटीको क्षयरोगीको संख्या बढ्न थालेपछि अभियानलाई तिब्रता दिनुपर्ने अवस्था आएको बताए ।  क्षयरोगीमा ज्यालामजदुरी, गरिब परिवारका साथै जनचेतनाको अभावका कारण उपचारपद्धतीका बारेमा जानकारी नहुदाँ समस्या भएको बताइएको छ ।

बिहिबार बेनीमा आयोजित तालिममा स्वास्थ्य निर्देशनालय पोखराका रेकबहादुर थापाले नियमित औषधी र पौष्टिक आहार सेवन गरेमा निको हुने बताए । समान्य क्षयरोगीले ६ महिना औषधी खाए निको हुने स्वास्थ्यकर्मीको भनाई छ । जिल्लामा लुकेका क्षयरोगीको पहिचानका लागि बेनी अस्पताल, मालिका गाउँपालिकाको दरबाङ, धवलागिरी गाउँपालिकाको ताकम, अन्नपूर्ण गाउँपालिकाको शिख र भुरुङ तातोपानीमा खकार परिक्षण केन्द्र रहेको छ ।