बरपिपल संरक्षणको अभियान, बरपिपल रोप्ने र चौतारो बनाउनेको अभिलेख राखिने

बेनी नगरपालिकाको एक वडाले बर,पीपल, कुवा र चौतारो संरक्षणको अभियानलाई तिब्रता दिएको छ । ग्रामिण बस्तीको सुन्दरतालाई कायम राख्न रोपिएको बरपिपल र चौतारी मर्मतसम्भारको अभावमा जीर्ण चौतारी, सडक सञ्जालले पुरिएका कुवाको मर्मतका लागि बेनपा–६ ले बजेट विनियोजन गरेर संरक्षणको अभियानमा जुटेको छ ।

वडाभित्र रहेका बरपिपल, चौतारोको संरक्षणमा स्थानीयलाई समेत सहभागी बनाएर धमाधम काम भइरहेको वडा अध्यक्ष कृष्णबहादुर बानियाँले बताए ।‘धार्मिक तथा पर्यावरणमा टुवा पुग्ने सम्पदानलाई हरेकबर्ष जोगाउने अभियानमा छौ,‘वडाभित्र तथ्याङ्क नै संकलन गरी संरक्षणमा अभियान सञ्चालन गरेका छौ’ उनले भने ।

तत्कालिन समयमा अर्थुङ्गे गाविस अन्तरगत विभिन्न बस्ती, पदैलमार्गमा निर्मित चौतारी र कुवा सडक सञ्जालको चपेटामा परेपछि वडा कार्यालयले वातावरण संरक्षणका शिर्षक बनाएर बजेट विनियोजन गरी स्थानीयलाई नै रेखदेख गर्ने जिम्मेबारी दिएको छ । वडाभित्र करिव ५० पानीको स्रोत भएका कुवा पुरिएको अवस्थामा रहेकाले हरेकबर्ष बजेट तथा स्थानीयको जनश्रमदानबाटै संरक्षण गरिने जनाइएको छ ।

गाउँबाट सदरमुकाम तथा अन्य गन्तब्यमा जानेलाई लक्षित गरी धार्मिक आस्थाका आधारमा निर्मित वर, पिपल र चौतारो बनाउने व्यक्तिको नाम र त्यसको ऐतिहासिकता पनि अभिलेख राख्ने प्रयास गरिएको छ । वडामार्फत सुरु गरिएको अभियानमा स्थानीयले समेत साथ दिएका छन् ।  बरपिपल संरक्षको उचित ब्यवस्था मिलाउन नियमित अनुगमनका साथै स्थानीयलाई नै संरक्षण समितिमा बरपिपल मास्न, काट्न, बिर्गान र बुढो, पुरानो भएर जोखिमपूर्ण भएमा अनुमति लिएर हाँगा काट्ने, मिलाउने ब्यवस्था गरिएको छ ।

बेनीबजारमा रहेका पुराना पिपलको रुख मास्ने प्रयासमा रहेको नगरपालिकालाई बजारसँगै जोडिएको वडाले चुनौती दिएको छ । गतबर्ष गण्डकी प्रदेशले माघ ८ गते बर, पीपल र चौतारो संरक्षणका लागि कानुन बनाएको थियो । प्रदेश सरकारले कानुन बनाएपनि स्थानीयस्तरमा डोजर नै लगाएर मास्न थालेपछि पछिल्लो समय बरपिपल संरक्षणको बहज नै चल्न थालेको छ ।