मदन–आश्रित स्मृति दिवस सङ्ग्रहालय बन्दै मदनको घर

पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।

यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो ।

यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो । यही घरमा कम्युनिस्ट पार्टीका सम्पूर्ण प्रशिक्षण कार्यक्रम चल्ने गथ्र्यो । पार्टीको भूमिगत कार्यालयका रूपमा यही घरमा विभिन्न कार्यक्रम हुन्थे । तत्कालीन लोकप्रिय नेता मोदनाथ प्रश्रितसहितका नेताहरू यहीँ बसेर पार्टीका गतिविधि अगाडि बढाउनुहुन्थ्यो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।