‘जसले बुद्ध विहार बनाउन दुई रोपनी जग्गादान गरे’

यहाँका एक दम्पत्तीले एशियाका तारा विश्वज्योती भगवान बुद्धको उपदेश र शिक्षालाई प्रचारप्रसार गर्न निर्मित बुद्ध विहारलाई करिव दुईरोपनी जग्गा दान गरेका छन् । बेनी नगरपालिका–७ संगमचोक निवासी पुन्यबहादुर शाक्य र श्रीमति लक्ष्मीदेवीले बौद्ध चैत्यलाई विहारमा रुपान्तरण गर्न आवश्यक जग्गा सहयोग गरेका हुन् ।

२०५६ सालमा निर्मित चैत्यमा जग्गा दान गरेपछि विहारका लागि समेत अपुगभएसँगै थप जग्गा दान गरेको म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्यले बताए । उनका अनुसार शाक्य दम्पत्तीले जग्गासँगै विहारमा नियमित पूजामा सहयोग, अक्षय कोष स्थापना लगाएत बुद्ध जयन्ती सहित विभिन्न कार्यक्रमहरूमा समेत आर्थिक सहयोग गर्ने गरेको बताए ।

‘उहाँहरूके सहयोगले संरचना बनाउन सफल भएका थियौं,‘स्वदेश तथा विदेशबाट आर्थिक जुटाएर संरचनााम बनायौं’ उनले भने । म्याग्दी बौद्ध संघका सचिव याम शाक्य तथा यूवा बौद्ध संघका पुर्व अध्यक्ष राजेश शाक्यका मातापिता समेत रहेका शाक्य दम्पत्तीले जग्गादानसँगै हरेक कार्यक्रममा सहभागी हुने गरेका छन् । । बि.श २०५३ सालमा पहिलो पटक खुल्ला बुद्ध जयन्ती समारोह गरी २०५४ सालमा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरी संंघको गठन भएको थियो ।

विहारमा शाक्य दम्पत्ती बाहेक यजनलाल शाक्यले १ लाख ८५ हजार, भबिलाल सार्की, रामकृष्ण घिमिरे प्रेम केसी लगाएतले समेत तत्कालिन समयमा आर्थिक सहयोग सहित भौतिक पूर्वाधार बनाउन सघाएका थिए । पदमार्ग सहितका आर्कषक पूर्वाधार बनाउन स्थानीयले सरकारी निकायलाई कुनैपनि सहयोगको याचना गरेनन् । विहार बनाउन करिव ६० लाखमा आर्थिक संकलन गरिएको संघका कोषाध्यक्ष कुविरकुमार श्रेष्ठले बताए ।

उनका अनुसार तत्कालिन समयमा स्थानीयको पहलमा ठुलो लगानीमा निर्मित संरचनामध्ये विहार समेत एक भएको बताए । बेनी–अर्थुङ्गे सडकखण्ड अन्र्तरगत खोरियामा बिहार बनेपछि अन्य संरचना सहित मानवबस्तीको विस्तार भएको छ । आसपासका क्षेत्रमा भवन सहितका संरचना समेत बनेका छन् । सुनसान जस्तै हुने खोरियामा चैत्य बनेपछि चहलपहल बढेसँगै आसपासका क्षेत्रमा जग्गाको मुल्य समेत आकाशिएको छ । शाक्य दम्पत्तीले महारानी थानमा समेत मन्दिर आसपासको संरचना बनाउन निशुल्क जग्गादान गरेका थिए ।

बुद्ध शिक्षाको केन्द्र बनाउने प्रयास
सदरमुकाम बेनीबजारबाट करिव एक किलोमिटरको दुरीमा सुन्दर र शान्त वातावरणमा रहेको बुद्ध विहारमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धका सन्देशहरु राखिएका छन् । बुद्धका बारेमा सुनेर पनि बुद्ध शिक्षाका बारेमा जानकारी नभएकाहरुलाई बिहारको प्रवेशद्धार देखी बुद्धको मुर्ती रहेको क्षेत्रसम्म पुग्ने बेलामा भित्तामा सजाइएका भनाई सहितका तस्वीरले समेत ज्ञान प्राप्तीमा सघाउँछ ।मानिसले जन्मसंगै अपरिहार्य लिएर आउने दुख जस्तै शारीरिक, मानसिक, पीडा, शोकलाई समेत बुद्ध शिक्षाले प्रष्ट ब्याख्या गरेको छ ।

‘बुद्ध शिक्षा प्राप्तीको स्थल बनाउने प्रयासमा छौ,‘थप पूर्वाधार विस्तारको योजना समेत छ’ यूवा बौद्ध संघका अध्यक्ष सचिन शाक्यले भने । उनले यूवापुस्तालाई बुद्ध शिक्षाको आवश्यकता रहेको बताए । करिव दुईरोपनीमा फैलिएको बिहारमा बस्ने स्थान, फ्रि वाईफाई तथा विभिन्न प्रजातीका फुलले आन्तरिक पर्यटकलाई आर्कषित गर्ने शाक्यले बताए । बिहारमा घुम्न पुगेकालाई लक्षित गरी अभिलेख पुस्तक समेत राखिने छ । म्याग्दी बौद्ध संघ तथा बुद्ध जयन्ती तथा लुम्बिनी दिवस समारोह समितिले २६४३ औ लुम्बिनी दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाइदै छ ।