म्याग्दीमा एशियाका तारा भगवान बुद्धको उपदेश र शिक्षाको महत्व दिनप्रति दिन बढ्दै गइरहेको म्याग्दीमा आयोजित कार्यक्रममा बोल्ने बक्ताले बताएका छन् । २६४३ औ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा म्याग्दी बौद्ध संघले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताले नेपालमा बुद्धका शिक्षा तथा सन्देशमुलक गतिविधिमा कमी आउँदा छिमेकी देश भारतले बुद्धको जन्मभूमिका बारेमा भ्रामक प्रचारप्रसार गर्ने अवसर पाएको बताएका थिए ।

बुद्ध विहारमा आयोजित कार्यक्रमको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले विश्वमा शान्तिको सन्देश फैलाउन बुद्धका उपदेश सुगन्ध ज्ञान भएको बताएका थिए ।  कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेपाली कांग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद रेग्मी, म्याग्दी बौद्ध संघका सल्लाहकार सुर्दशनकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बुद्ध शिक्षालाई ब्यापक बनाउने अभियानमा सघाउने बताए ।

म्याग्दी बौद्ध बिहारका भद्दन्त सम्यक सम्बोधि प्राणपुत्रले दिवसको महत्वका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा जग्गादाता पुन्य शाक्य, लक्ष्मी शाक्य, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो ।कार्यक्रममा संघका संस्थापक अध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वर्गीय बुहारी सिता बरुवाल श्रेष्ठको सम्झनामा ५५ हजार ५५५ को अक्षय कोष समेत स्थापना गरेको यूवा बौद्ध संघका अध्यक्ष सचिन शाक्यले जानकारी दिए ।

दिवसको अध्यक्षता मुल समारोह समितिका संयोजक एवम् म्याग्दी बौद्ध संघका अध्यक्ष यजनलाल शाक्य, सञ्चालन सचिव याम शाक्य र समापन थकाली बौद्ध सेवा समाजका अध्यक्ष सुन्दरमान शेरचनले गरेका थिए ।

यसैबीच बेनीका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरु सहितको सहभागितामा बुद्ध मुर्ती सहित सोभायात्रा र शान्ति पदयात्रा निकालिएको थियो ।यूवा बुद्ध संघ र मगर विद्यार्थी संघको संयोजनमा आयोजित पदयात्राको सञ्चालन यूवा बौद्ध संघका अध्यक्ष सचिन शाक्यले गरेका थिए ।

Leave a Reply