रबिना बोहरा/ बागलुङ सदरमुकाम स्थित एक घरमा ल्याएको खानेपानीको जारमा किरा भेटिएको छ । बागलुङ नगरपालिका–१ मरेपिपल स्थित ख्यामराज सापकोटाको घरमा बस्दै आएकी सरिता शर्माले पिउनका लागि भनेर ल्याइएको जारमा किरा भेटिएको हो ।

महालक्ष्मी मिनरल वाटर कम्पनीबाट उत्पादित शिल गरिएको कालिका पिउने पानीमा किरा भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । बागलुङ नगरपालिका–६ का वडा अध्यक्ष समेत रहेका सापकोटाको घरमा बस्दै आएकी बानपा–११ की शर्माले खरिद गरेको पानीको जारमा लामा लामा खुट्टा भएका जिउदो किरा जस्तो देखिने बस्तु फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

झण्डै ८ बर्ष अघिदेखि सञ्चालित यस उद्योगबाट उत्पादित पानी सदरमुकामका हरेक घर, सरकारी एवं गैरसरकारी कार्यालय तथा विभिन्न संघ संस्थामा उपभोग हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले किरा भेटिएको जानकारी पाएपछि जनप्रतिनिधि, प्रहरी, उपभोक्ता मञ्चको टोलीले खानेपानीको जार बरामद गरेको बताउनुभयो । पानीमा भेटिएको अखाद्य बस्तु परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागमा पठाउने तयारी गरेको प्रहरी नायब उपरिक्षक भट्टराईले बताउनुभयो ।

यता कम्पनीका सञ्चालक सुवासचन्द्र राजभण्डारीले किरा परेको स्वीकार्छन् । कहिलेकाँही प्राविधिक कमजोरीका कारण यस्तो समस्या आउने गरेको राजभण्डारीले बताए । जाली लगाउदा पनि बेला बखत किरा आउने गरेको भन्दै नियतबस कुनै काम नगरेको बताउछन् ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख केदार पौडेलका अनुसार दुई वटा नमुना लिएर ल्याब परीक्षण गर्ने र खाद्य ऐन २०२३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभयो। news24nepal.tv

Leave a Reply