रघुगङ्गा गाउँपालिका–४ दग्नाममा परम्परागत रुपमा भूमेथानको पुजाको अवसरमा जुधाउदै आएको लिङ्गो जुधाई प्रतियोगिताले यूवापुस्तालाई आर्कषित गरेको छ । प्राचिनकाल देखी भुमेथानको पुजाको अवसरमा लिङ्गो जुधाउने प्रतियोगितालाई नयाँ पुस्ताले समेत पुर्खाको कला र संस्कृतिको रुपमा निरन्तरता दिदैं प्रतियोगिताको जर्गेना गर्ने अभियानलाई यसबर्ष पनि निरन्तरता दिएका छन् ।

प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन मङ्गलबार कान्छी गाउँ र जेठी गाउँँबीच लिङ्गो जुधाउने प्रतियोगिता सम्पन्न गरिएको हो। दग्नाममा विगत लामो समयदेखिको इतिहास बोकेकोे प्रतिस्पर्धामा गाउँले सहभागिता जनाएका थिए । दुई गाउँबाट छुट्टाछुट्टै रुपमा ध्वजा सहित लिङ्गोलाई चिटिक्क सिङ्गारिएको अग्लो बाँसको लिङ्गो बोकेर मुन्का डाँडामा पुगेपछि प्रतिस्पर्धा गराइएको एकता यूवा क्लवका अध्यक्ष गुन बहादुर पुनले बताए ।

‘मानवबस्तीको विस्तारसँगै प्रतियोगिताको सुरुवात भएको थियो,‘गाउँका यूवापुस्ताको समेत चासो बढेकाले जोगाउन सजिलो भएको छ’ पुनले भने । उनका अनुसार परम्परागत प्रतियोगिताले दुई गाउँका यूवाहरू बीच सांस्कृतिक संरक्षणसँगै भावनात्मक एकता समेत बलियो भएको बताए । करिव चारघण्टा भएको प्रतिस्पर्धामा कान्छी गाउँ विजय भएको थियो ।

स्थानीयले पुख्यौली, गीत, पञ्चेबाजाको रमाइलो उत्सब सहित जातीय भेषभुषामा सजिएर भूमेत देवताको पूजा गरेपछि दिउँसो देवतालाई खुसी बनाउनका लागि लिङ्गो जुधाउने गरेको स्थानीय मोहन तिलिजाले बताए । उनका अनुसार बर्षभरीको खेतीबाली, राम्रो होस्, प्राकृतिक प्रकोप सहित विनास नहोस्, स्थानीयको मनोकामना पुरा लगाएत भूमे देवतालाई विधि पुरा गरी पुजाआजा गर्ने गरेको बताए ।

लिङ्गो जुधाई प्रतियोगिताको अवसरमा रघुगंगा गाउँपालिका अन्र्तरगत पिप्ले, मौवाफाँट, चिमखोला लगाएत छिमेकी गाउँबाट समेत अवलोकन गर्न आउने गरेका छन् । पछिल्लो समय प्रतियोगिलाई आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्न प्रचारप्रसार सुरू गरिएको छ । पुराना कला र संस्कृतिलाई संरक्षण गर्न यूवापुस्ताको सक्रियताले बुढापाका समेत उत्साहित छन् ।

Leave a Reply