म्याग्दीमा मालिका गाउँपालिका स्थानीय तहस्तरीय बाल सञ्जाल गठन गर्ने पहिलो स्थानीय तह भएको छ । गाउँपालिका भित्रका नीजि तथा सामुदायिक विद्यालयका विद्यार्थीको उपस्थितीमा मंगलबार दरबाङमा गाउँपालिकास्तरीय प्रथम बाल भेला तथा बाल सञ्जाल गठनमार्फत बालबालिकाले आफ्नो हकअधिकारलाई नीतिगत रुपमै कार्यान्वयनमा ल्याउन माग गरेका छन् । बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, घरभित्रबाटै बालबालिका सुरक्षित, बाल आपत्कालिन कोष स्थापना, जातिय विभेद विरुद्धको अभियान सहित १८ बुँदे घोषणापत्र जारी गदैं कार्यान्वयनमा जोड दिएका छन् ।

गाउँपालिका भित्रका १५ नीजि तथा सामुदायिक विद्यालयको उपस्थिती रहेको भेलाले जारी गरेको घोषणापत्रलाई कार्यान्वयनमा ल्याउन हरेक वडामा वितरण तथा विद्यालयस्तरमा समेत पुगेर कार्यक्रम गरिने मालिका गाउँपालिका बालसञ्जालका अध्यक्ष हरि गौतमले बताए । ‘हामी सबै बालबालिकाले भेलाबाट तयार गरेको घोषणापत्र हो,‘सञ्जालमार्फत हरेक बुँदाको प्रयोगमा दवाव दिन्छौ’ गौतमले भने ।

भेलाबाट पारित भएको घोषणापत्रलाई बालबालिकाको अधिकार स्थापित गर्ने एक आधार भएकोगाउँपालिका उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । उनले विद्यालय, वडा तथा गाउँपालिकास्तरीय बाल सञ्जाललाई आवश्यकता अनुसार क्षमता विकास तथा विभिन्न कार्यक्रममा सहभागि गराउने प्रतिबद्धता जनाईन् । उनले गाउँपालिका भित्र देखिएको समस्या घोषणापत्रमा समावेश गरेका बालबालिकाको सक्रियताले बाल सहित समुदायमा हुने विभिन्न किसिमका हिंसा अन्त्य हुने भएकाले पनि बालबालिकामैत्री कार्यक्रमहरु तथा संरचनामा पहल गर्ने बताईन् ।

Leave a Reply