Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

म्याग्दी क्याम्पसमा सिपमूलकसम्बन्धी विद्यार्थीलाई तालिम

म्याग्दी बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई लक्षित गरेर विभिन्न तालिमहरु सञ्चालन भएका छन् । बेनी नगरपालिका र घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको सहयोगमा विभिन्न किसिमका सिपमूलकसम्बन्धी तालिम दिइएको हो । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा क्याम्पस परिसरमा ३ महिनाका लागि १० जनालाई हाउस वाईरिङसम्बन्धी तालिम चलाइएको म्याग्दी बहुमुखी क्याम्पसले जनाएको छ ।

यसैगरी कार्यालयकै सहयोगमा १० जनालाई तीनमहिने कम्प्युटरको बेसिक तथा हार्डवयरसम्बन्धी तालिम सञ्चालन गरिएको क्याम्पसका प्राध्यापक तथा व्यवस्थापन विभाग प्रमुख नारायणप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार घरेलु कार्यालयमार्फत उद्यमसिलता विकाससँग सम्बन्धित १० दिनसम्म ३० जनालाई सहभागी बनाएर तालिम चलाइएको थियो ।

त्यस्तै बेनी नगरपालिकाको आर्थिक सहयोगमा १ हप्तासम्म २० जनालाई लोकसेवा तयारीको कक्षा समेत आयोजना गरिएको प्राध्यापक सुवेदीले बताएका छन् । इच्छुक विद्यार्थीहरुको फाराम सङ्कलन गरी उनीहरुलाई तालिम प्रदान गरिएको उनले बताए । त्यसैगरी बेनी नगरपालिकाकै सहयोगमा २५ जना विद्यार्थीहरुलाई शिक्षक सेवा आयोगसम्बन्धी तालिम दिइएको म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख टिकाराम सापकोटाले जानकारी दिए । यस्तै कर, भ्याट तथा बैङ्किङसम्बन्धी विषयमा पनि ३ दिनसम्म २५ जनालाई नगरपालिकाकै सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

Exit mobile version