निर्मल पूर्जाले ६ हप्तामै ८ हजार मिटरभन्दा अग्ला पाँच हिमालको आरोहण गरे

हिम चितुवाको उपनाम पाएका कर्पोरल निर्मल पूर्जाले ६ हप्तामै ८ हजार मिटरभन्दा अग्ला पाँच हिमालको आरोहण गरेका छन् । ७ महिनाभित्र संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्न हिमाल आरोहणमा निस्किएका पूर्जाले अन्नपूर्ण, धौलागिरी, कञ्चनजंगा, सगरमाथा र ल्होत्से हिमालको आरोहण गरेका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना स्थायी घरभई हाल बेलायतमा बसोबास गर्ने पूर्जाले आफ्नै जिल्लामा रहेका ८ हजार मिटर अग्लो हिमालबाट आरोहण सुरू गरेका थिए । ‘मेरो मिसन सफलतातर्फ उन्मुख भइरहेको छ,‘बाँकी सबै हिमाल लक्ष्य अनुसार नै आरोहण गर्नेछु’ पूर्जाले भने ।

उनले आफ्नो असिसिफल पेजमा आरोहणको अन्तिम अपडेट समेत गरेका छन् । आरोही पुर्जाले अभियानलाई ‘प्रोजेक्ट पोसिवल’ नाम दिएका छन् । मिसन अन्तरगत आरोहण गर्न बाँकी केटु, मकालु,च्होयो, मनास्लु, नाङ्गगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापङ्गमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ३ वटा बाँकी हिमाल नेपालमै छन् । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ। मिसनमा आर्थिक समस्या भएपछि फन्ड संकलनको कार्य समेत भइरहेको छ ।

सन् २०१९ को अन्त्यमा अभियान पुरा गर्ने लक्ष्य रहेकाले आरोहणमा आवश्यक पर्ने थप सहयोग जुटाइरहेको पूर्जाका दाजु कमलबहादुर पूर्जाले बेनीअनलाइनलाई बताए । पूर्जा सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए।

सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । बेलायतमा मासिक ६ लाख नेपाली तलबसुविधालाई छोडेर आरोहणमा निस्किएका पूर्जाको अभियानमा बेलायतमा सहयोग संकलनमा च्यारेटी सो समेत गरिएको थियो ।