सनम गर्बुजाले पहिरिन ‘मिस मगर २०१९’ को ताज

मिस मगर नेपाल–२०१९ को ताज म्याग्दीकी सनम गर्बुजा मगरले जितेकी छिन् । एस.टी. क्रियशनको आयोजना तथा हिमाअस एजुकेशन कन्सल्टेन्सीको प्रस्तुतीमा शुक्रबार पोखरामा आयोजित प्रतियोगितामा अन्य ९ अन्तिम प्रतिस्धर्धीलाई पछि पादैं गर्बुजाले चौथो संस्करणकको मिस मगर नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

वेष्ट लिडरसीप टाइटल अवार्डसँगै मिस मगर नेपालको ताज पहिरिन सफल उनले १ लाख रुपैयाँ बराबरको एक साताको विदेश भ्रमणमा जान पाउने भएकी छिन् । प्रतियोगितामा बागलुङकी सोनी पुनमगर वेष्ट स्माइल र वेष्ट फोटो जेनिक गरी दुई टाइटल अवार्डसँगै फष्ट रनर अप बन्दै ५० हजार रुपैयाँ नगद पुरस्कार जितिन् भने सेकेण्ड रनर अप पनि बागलुङकै सानिया पुनमगर भएको आयोजकले जनाएको छ ।

वेष्ट पर्सनालिटी र वेष्ट वाक गरी दुई टाइटल अवार्डसँगै सेकेण्ड रनर अप भएकी सानियाले ३० हजार रुपैयाँ नगद पुरस्कार जितिन् । मिस मगर नेपालको भ्यूअर्स च्वाइस अवार्ड भने म्याग्दीकी उषा अर्मजामगरले जित्न सफल भइन् । उषाले मोष्ट डिसिप्लिनको अर्को टाइटल अवार्ड पनि जित्न सफल भइन् ।

त्यसैगरी, वेष्ट स्किन टाइटल अवार्ड म्याग्दीकी मेलिना चोचाङ्गीमगर, वेष्ट हेयर बागलुङकी मेलिना श्रीसमगर, मोष्ट फ्रेन्डली म्याग्दीकी अस्मिता तिलिजामगर, वेष्ट पर्फरमेन्स बागलुङकी एलिसा बुढामगर, मोष्ट इन्टेलिजेन्ट तथा मोष्ट कन्फिडेण्ट तनहुँकी रिमांश थापामगर, मोष्ट पपुलर र मोष्ट ट्यालेन्टेड गरी दुई वटा टाइटल अवार्ड स्याङ्जाकी केशरी रानामगरले जितिन् ।

विजेतालाई प्रमुख अतिथि, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगर, नेपाल मगर संघका पूर्व केन्द्रीय अध्यक्ष एवं वर्तमान केन्द्रीय संरक्षक झकबहादुर थापामगर लगाएतले सम्मान गरेका थिए । भाषा, संस्कृतिको संरक्षणका लागि नवीनतामार्फत् योगदान दिन खोजेको प्रतियोगितालाई निरन्तरताको कामना समेत गरिएको थियो ।