घट्टेखोला उर्लिदा निर्माणधिन पुलमा क्षती, बेनी–जोमसोम सडक अवरुद्ध

अविरल बर्षाले उत्तरी म्याग्दीको जनजीवन अस्तब्यस्त भएको छ । लगातारको बर्षासँगै ठाडाखोला उर्लिएपछि बेनी–जोमसोम सडकखण्ड ठाउँठाउँमा अवरुद्ध भएको छ भने अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको घट्टेखोलामा निर्माणधिन अवस्थामा रहेको पक्की पुलमा क्षती पुगेको स्थानीय पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बेनीअनलाइनलाई बताए ।

‘एक्कासी उर्लिएर आएको बाढीले पुलको सर्टिङ बगाएको छ,‘आइतबारसम्म सडक नियमित सञ्चालनको सम्भावना छैन’ शेरचनले भने ।माथिल्लो क्षेत्रमा अत्याधिक बर्षाका कारण घट्टेखोलाको सहत समेत ह्वात्तै बढेको छ । घट्टेखोलामा ५ करोड ७६ लाख रुपैयाँमा निर्माणधिन अवस्थामा रहेको पुलको सर्टिङ सहित खोला नजिक रहेका निर्माण साम्रागी समेत बगाएको छ । नेपाल र चीनको सीमा क्षेत्र मुस्ताङको कोरला नाकासम्मको सडक सञ्जाललाई सहज बनाउने गरी भइरहेको स्तरनउन्तीको काम समेत प्रभावित भएको जनाइएको छ ।

उत्तरी क्षेत्रमा लगातारको बर्षाले गुईठे, दाना र छिमेकी मुस्ताङको घाँसको सिमानामा अवस्थित काभ्रेभीर लगाएत आसपासका क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि मुस्ताङ र बेनीतर्फबाट गएका यात्रु अलपत्र परेका छन् । ‘हिलाम्मे सडकका कारण सवारीसाधन बाटोमै फसेका छन्,‘यात्रा निकै जोखिमपूर्ण बन्दैछ’ एक यात्रुले भने । बेनी–जोमसोम सडकखण्डमा जेठदेखि भदौ महिनासम्म सडक यात्रामा यात्रुले निकै सास्ती खेप्ने गरेका छन् ।