विदेशबाट रित्तो हात, तरकारी खेतीबाट फलिफाप

जीवनको उर्वर समय मुग्लानमा पसिना बगाउँदै बिताए पनि राम्रो कमाइ गर्न नसकेपछि स्वदेशमा फर्किएर माटोसँग खेल्दै तरकारी खेतीमा लागेका हरिलालको जीवनको उत्तरार्धमा बल्ल हरियाली छाउन थालेको छ। म्याग्दीको बेनी नगरपालिका–२ बन्चरेढुङ्गाका ५० बर्से हरिलाल घिमिरेको युवावस्था साउदी अरेबियाको चर्को घाममा पसिना बगाउँदै बित्यो।

३० वर्षअघि २० वर्षका लक्का जवान उनले विपन्नताका कारण साहुसँग ऋण लिएर मुग्लानको बाटो समाएका थिए। उनले १० वर्ष साउदी र १० वर्ष खाडीका अन्य मुलुकमा पसिना बगाए पनि खासै राम्रो कमाइ गर्न सकेनन् र स्वदेश फर्किए। घर फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने उनका खेतमा जस्तै जीवनमा पनि हरियाली छाउँदै गयो।

‘सुरुसुरुमा तरकारीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिनँ’, उनले भने, ‘कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर म काममा लागिरहें।’

०६६ सालदेखि व्यावसायिक आग्र्यानिक तरकारी खेती गर्दै आएका घिमिरेले ७ रोपनी जग्गामा गोलभेंडा, करेला, साग, भन्टा, रामतोरिया, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाएका छ। तरकारी बिक्री गरेर उनले वार्षिक ६ लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको बताए।

‘यही माटोमा पसिना बगाउन थालेपछि मैले बुझें विदेशमा बगाउने पसिना आफ्नै माटोमा बगाउने हो भने पैसा यही फल्दोरहेछ’, उनले भने, ‘उमेर ढल्केपछि मलाई चेत आयो तर मैले मेरा छोराहरूलाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो।’

अहिले घिमिरेको खेतबारीमा गोलभेंडा, काँक्रा, करेला लटरम्मै फलेको छ। खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ। २ छोरा, पत्नी र आफूसमेत ४ जनाले तरकारीको स्याहार गर्ने, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बेच्दै आएका छन्।

तरकारी बेचेर मासिक सरदर ५० हजार आम्दानी हुन थालेपछि घिमिरे परिवारले मुग्लानको बाटोमा सधैंका लागि बार लगाएका छन्। ‘आफ्नै माटोमा पैसा फलाउन सकिने उपाय मैले मेरो परिवारलाई पनि सिकाएको छु, त्यसैले उनीलाई पनि कमाउन कहिल्यै विदेश नपठाउने सोचाइ छ’, उनले भने, ‘समय सधैंै किन एउटै धारमा चल्थ्यो र? सोच बदल्नु पर्दो रहेछ, परिश्रम गर्न सक्नु पर्दो रहेछ, पैसा कमाउन मुग्लान पस्नै नपर्ने रहेछ।’

उनले अहिलेसम्म कुनै पनि संघसंस्था वा सरकारी निकायबाट तरकारी खेतीसम्बन्धी तालीम नलिएको बताए। ‘सिकाइ अनुभव नै मेरा लागि तालिम र अवसर दुवै बन्यो’, उनले भने। राज्यले किसानलाई दिने अनुदानसमेत पाएका छैनन् उनले। उनी गैरकिसानले सरकारी अनुदान पाएको तर आफूले नपाएकोमा व्यंग्य गर्दै भन्छन्, ‘तरकारी खेतीभन्दा पनि समूह र सहकारी दर्ता गरे खेती नगरे पनि अनुदान पाइँदो रैछ।’

वर्षमा चार पटक तरकारी उत्पादन गर्दै आएका घिमिरेको ६ जनाको परिवारका लागि यही नै आम्दानीको भरपर्दो स्रोत बनेको छ। उनी बिहान उठेदेखि साँझसम्म  तरकारी खेतीमै व्यस्त हुन्छन्। तरकारीमा विषादीको प्रयोग नगर्ने उन िभन्छन्, ‘औषधिमूलक झारपात तथा पशुको पिसाबबाट रोग र कीरा हटाउने, मलजल गर्ने गरेको छु।’

२ वर्षअघि आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री नभएपछि पोखरा, काठमाडौं, चितवन र बुटवल पु-याएर सस्तोमा बेच्नु परेको उनले गुनासो  गरे। तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि उनको जीवनस्तर उकासिएको छ। पहिला २÷४ सय आवश्यक पर्दा अरूसँग हात थाप्नुपर्ने घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तिय संस्थामा रकम जम्मा, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोडेका छन्।

सरकारले कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने, उत्पादन गरेका कृषि उपज बजारीकरणमा स्थानीय तहले व्यवस्था गरिदिन सके उनीहरूलाई राहत हुने उनी बताउँछन्। राज्यले अनुदानको व्यवस्था गरे तरकारी खेती अझै विस्तार गर्ने घिमिरेको सोच छ। पानी अभाव हुँदा सार्वजनिक कुवाबाट पानी बोकेरसमेत खेती गर्दै आएका छन् उनले। घिमिरेकै सिको गरेर धेरैले तरकारी खेती गर्न थालेका छन्। अहिले बन्चरेढुंगाका घर–घरमा करेसाबारी छन्। किसानले उत्पादन गरेको तरकारी बजारीकरणका लागिसमेत कुनै समस्या छैन। व्यापारी खेतीबारीमै पुग्न थालेका छन्।