म्याग्दीका गाउँगाउँमा व्यावसायिक तरकारी खेतीको लहर चलिरहेको छ । छोटो समयमा बढि उत्पादन गरी मनग्गे आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावि विषादीको प्रयोग गर्न थालेपछि यसको असर उपभोक्ताहरुमा देखिन थालेको छ । किसानहरुले कृषि प्राविधिकको सल्लाह नलिइ जथाभावी विषादीको प्रयोग गर्दा उपभोक्ताहरुको भान्सामा तरकारीसंगै विषादी पनि पाकिरहेको छ ।

जिल्लाका ग्रामिण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराइका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन् ।सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा विषादी र तरकारी एकैचोटी पाकिरहेको छ ।गाउँ र तराइबाट बेनीमा आउने तरकारीको परीक्षण गरिदैन । विषादी परीक्षण नहुँदा उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइरहेको उपभोक्ताहरुले बताएका छन् ।

तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन् । विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ रहेको छ । पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ । फल फलिसकेपछि तरकारी छिटो बजारमा र्पुयाउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तराष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए । कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मान भनेर नेपालमा ल्याउन शुरु गरिएको हो ।सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ ।

विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउदै गएको हो । कृषि वैज्ञानिक कार्कीका अनुसार हाल नेपालमा वार्षिक रुपमा रु ७४ करोड,७७लाख,८५ हजार ९१४ को ६ लाख ३५ हजार ७ सय २१ विषादी खपत हुने गरेको छ ।  नेपालमा पंजिकृत विषादीको संख्या (व्यापारिक नाम) २ हजार ५ सय ७६ रहेको छ भने १सय ३९ ओटा सामान्य पंजिकृत विषादी रहेका छन् । सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८ सय ८७ खुद्रा विक्रेता र ११ हजार ९सय ८ तालिम प्राप्त विक्रेता रहेका छन् ।

सरकारी तथ्याङ्क अनुसार इजाजत लिएका संष्लेषणकर्ताहरुको संख्या भने जम्मा ५ रहेको छ । कृषि बैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी,फलफूल तथा खाद्यान्नले दीर्घकालिन असर निम्त्याइरहेका छन् । क्यान्सर,वंशाणुगत परिवर्तन,विकृत बच्चाको जन्म,कलेजो तथा मृगौला विग्रनु,प्रजननमा विकृति,स्थानयू रोग,एजर्ली,दम,अन्धोपन लगाएतका समस्याहरु बढ्दै जानुको पछाडी विषादीको प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रम्ुख रहेको छ ।

त्यसैगरी बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले प्रयोग गर्न नहुने ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताए । बानियाँले भन्नुभयो ‘यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकीरहेको छ र हामी तरकारीसंगै विष पनि खाइरहेका छौं ।’विषादी रहित आग्र्यानिक तरकारी खेतीका लागि कृषकहरुलाई व्यापक जनचेतनाको आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कडेंलले बताए।

‘किसानहरुलाई विषादी रहित तरकारी खेतीका लागि प्रोत्साहित गर्न सरकारले आग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आबश्यक छ’ संयोजक कडेंलले भने ‘कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हामीले विषादी रहित तरकारी उत्पादनका लागि आधुनिक तरिका र प्रविधिका वारेमा सिकाइरहेका छौं ।विषादीयुक्त तरकारी खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्।

मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने,लुलो लंगडो हुने र क्यान्सरले समेत सताउँने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताए।चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन चार पटक राम्ररी पखालेर राम्ररी पकाउनुपर्छ।‘प्रर्याप्त जानकारी हुँदाँहुदै पनि बाध्यतामा उपभोक्ताले सेवन गरिरहेका छन’, उनले भने। सरकारको विषादी प्रयोग गर्नेलाई कडा कारवाहीको कानुनी व्यवस्था नगर्दा सम्म यस्तो समस्या रहीरहने उपभोक्ताहरुले बताएका छन्।

Leave a Reply