अन्नपुर्ण गाउँपालिका ६ घारका स्थानीयले गाउँपालिकाका केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोरेपानी जोड्ने सडकको स्तरउन्नतीमा आयोजनापक्षले लापरवाही गर्दा बस्ती नै जोखिममा परेको गुनासो गरेका छन् । सडक विस्तारको क्रममा स्थानीयबासीले मापदण्ड अनुसार विस्तारमा सहयोग गरेपनि आयोजना पक्ष र ठेकेदारको चरम लापरवाहीले सडकखण्ड अन्तरगत वडा नं ६ मा पर्ने बस्ती जोखिममा परेको बताएका थिए ।

बुधबार गाउँपालिकाको आयोजनामा घारमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै अधिकांस स्थानीयले आयोजना पक्षको कमजोरीले बस्ती नै तहसनहस हुन लागेको बताएका थिए । सडकखण्ड अन्तरगत हल्लेखर्क, बिरौटा लगाएतका चारवटा बस्ती बाढी र पहिरोको जोखिममा परेको बताएका थिए ।  सडकखण्डकै कारण घरमा क्षती पुगेपछि रत्नकली बरुवाल, शेर बहादुर खड्काले घर छोडेर अन्यत्र जान बाध्य भएको बताइएको थियो । ‘सडकखण्डमा मनपरी भएको छ,‘सडक विस्तारमा स्थानीयले सहयोग गर्दा समेत आयोजनापक्षबाट छातीमै प्रहार भएको महसुस गरेका छौ’ स्थानीयले आक्रोश पोख्दै भने ।

सार्वजनिक सुनुवाईमा अधिकांस गुनासो सडकसँग सम्बन्धित थिए । सडक विस्तारमा डोजरले मनपरी खन्दा बस्तीका साथै आसपासका खेतीयोग्य जमिन, सुन्तलाबारीमा समेत क्षती पुगेको स्थानीय गोकुल बरुवालले बताए । ‘माटो ब्यवस्थापन गर्न नसक्दा बस्तीमै भलबाढी प्रवेश गरेको छ,‘तत्काल रोकथाम नगरे बैकल्पिक ठाउँमा जानुको विकल्प छैन’ उनले भने । सार्वजनिक सुनुवाईमा नेकपा र नेपाली कांग्रेसका स्थानीय नेताले समेत सहमति विपरित काम भइरहेको बताएका थिए ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडकखण्डमा कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गरिने जानकारी दिइएको थियो । ३६ करोड ६९ लाख ५८ हजार १० लागत अनुमान गरिएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लख ३५ हजार २२० मा ठेक्का सम्झौता भएको यिथो ।

सोही अवसरमा विद्युत कटौतीका कारण गाउँ अन्धकार, कृषि, पशुपालन, स्वास्थ्य लगाएतका विषयमा आफ्नो गुनासो राखेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ,प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्मा,वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवाल,पशु सेवा शाखा प्रमुख कृष्ण चौधरी,कृषी शाखा प्रमुख सम्झना खत्री, शिक्षा शाखाका प्रमुख भरतकुमार पुन र सामाजिक विकास शाखाका अधिकृत हरिकृष्ण आचार्यले स्थानीयको जिज्ञासमा जवाफ दिएका थिए ।

गाउँपालिका अध्यक्ष गर्बुजाले सडक विस्तारमा देखिएको समस्यालाई समाधान गरिने बताए । उनले विकास निर्माणलाई तिब्रता दिएसँगै सडकले स्थानीयलाई विस्थापित गर्ने जोखिमलाई न्यूनिकरण गर्न आयोजना पक्षसँग निरन्तर जवाफ मागिरहेको बताए । ‘जनताका समस्यालाई सम्बोधन गर्ने गरी अर्को बजेटमा थप योजना सहित आउँछौ,‘विस्थापितलाई गाउँपालिकाले पनि सहयोग गर्छ’ उनले भने ।

त्यस्तै वडा अध्यक्ष बरुवालले पटकपटक जनतासँग सम्बन्धि समस्याका बारेमा आयोजना र ठेकेदार पक्षलाई सचेत बनाइएको बताए । उनले बर्खाको समयमा कटिङलाई रोक्दै बाढीपहिरो प्रभावित क्षेत्रका जनतालाई सहज हुने गरी काम गर्न माग गरिएको बताए । अध्यक्ष क्याप्टेन पुनको अध्यक्षता , म्याग्दी मिडिया सोसाईटीका उपाध्यक्ष हरिकृष्ण गौतम र सदस्य साधन राम्जालीको सहजिकरणमा कार्यक्रम समापन भएको थियो । कार्यक्रममा वडा नं ५ का अध्यक्ष दिनेश कुमार पुन,वडा नं २ का अध्यक्ष ओमबहादुर फगामी र कार्यपालिकाका सदस्य विष्णुकुमारी परियारले मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply