अघोषित बिद्युत कटौतीका कारण म्याग्दीबासीले दैनिकै हैरानी खेप्नुपरेको छ । दैनिकजसो विना सूचना विद्यतु कटौतीले म्याग्दीको सदरमुकाम बेनी सहित जिल्लाको ग्रामिण क्षेत्रमा सञ्चालित साना तथा ठुलो उद्योगका साथै सञ्चागृह, बैंक तथा वित्तिय संस्था लगाएत सर्वसाधारणको दैनिकीमा समेत असर गरेको छ ।

विना सूचना दैनिकजसो बिद्युत कटौतीबाट म्याग्दीबासी आक्रोशित छन् । पर्वतको मोदी सवस्टेशनबाट विद्युत् आपूर्ति अनियमितताका कारण म्याग्दीमा दैनिकजसो हुने विद्युत कटौतीले ब्यापार ब्यवसायमा लाखौं क्षती भएको उद्योगी प्रमोद श्रेष्ठले बताए । ‘विद्युत कटौतीले उद्योगधन्दा संकटमा छन्,‘अति नै लापरवाही भएको छ’ श्रेष्ठले भने ।

उनले समान्य मर्मतमा समेत एकदिनसम्म आपूर्ती रोक्ने गरिएको बताउँदै म्याग्दी जिल्ला जोड्ने लाइनलाई मोदीबाट छुट्टै विस्तार गर्नुपर्ने बताए । बागलुङ र पर्वतमा मर्मत गर्दा समेत म्याग्दीमा हुने अघोषित लोडशेडिङलाई अन्त्य गर्न राजनीतिक तथा अन्य संघसंस्थामार्फत दवाव दिनुपर्ने बताए ।

विगत डेढदशक अगाडीदेखि अघोषित लोडसेडिङको समस्या समाधानमा लागि भइरहेका प्रयासहरू सफल हुन सकेका छैनन् । विद्युत कार्यालयमा तालाबन्दी सहित दर्जनौपटक ज्ञापनपत्र बुझाउने कार्य भएपनि सुधार आएको छैन् । कलकारखाना, उद्योग व्यवसाय, सर्वसाधारणको दैनिकी बैङ्क वित्तीय संस्था र सरकारी कामकाज समेत प्रभावित बनेको अवस्थामा प्रदेश तथा संघीय प्रतिनिधिमार्फत समेत पहल गर्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताए ।

‘विद्युतको कम पावरको पनि उस्तै समस्या छ,‘दिर्घकालिन समाधानको उपाय नहुदाँ समस्या जटिल बन्दै छ’शाक्यले भने । यता बेनी वितरण केन्द्रका नेत्रमणि न्यौपानेले मोदीबाट म्याग्दी र बागलुङ जोड्ने ट्रान्समिसन लाईन सिस्टममा समस्या देखिदाँ म्याग्दीले बिनाकारण समस्या खेप्नुपरेको बताए । उनले बागलुङ र पर्वतमा मर्मत हुदाँ म्याग्दीमा कटौती हुने भएकाले पनि नयाँ योजना आवश्यक रहेको बताए । सडक निर्माण सहित विभिन्न विकास निर्माणको क्रममा विद्युतको पोलमा समय–समयमा ढुंगा खसेर लाग्दा केही समय बन्द गर्ने गरेको अधिकारीले बताए ।

Leave a Reply