Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

पासपोर्ट थन्काएर होटल व्यवसायमा युवा

पर्यटकीय जिल्ला म्याग्दीमा पछिल्लो समय होटल, रेष्टुरेन्ट तथा रिसोर्टमा लगानी बढ्दै गएको छ ।जिल्लामा पर्यटकहरुको आवागमन बढेको देखेर कतिपय विदेशबाट फर्किएका र विदेश जाने तरखरमा रहेकाहरुले समेत यस क्षेत्रमा लगानी गर्न थालेका हुन् । लाहुरेको जिल्ला भनेर परिचय बनाएको म्याग्दी जिल्लामा पछिल्लो समय युवाशक्ति स्वदेशमै पनि आकर्षित हुन थालेका छन् ।

कतिपय विदेश जान तम्तयार भएकाहरु पनि पासपोर्ट बाकसमा थन्काएर होटल व्यवसायमा होमिएका छन् । यसको मुख्य कारण हो, जिल्लामा आन्तरिक पर्यटकको चहलपहल बढ्नु ।करिब ४ बर्ष कतार पुगेर खासै प्रगति गर्न नसकेका  दीपक जिसीले रु ३५ लाख लगानीमा संयुक्त रुपमा रेष्टुरेन्ट चलाएका छन् ।

जसबाट आम्दानी त मनग्ये नै भएको छ, त्यसमाथि आफ्नै देशमा पसिना चुहाउन पाउँदा निकै सन्तुष्टि मिलेको उनी बताउँछन् ।विदेश गएका साथिहरुले भोग्नुपरेका दुख र हन्डरहरु सुनेर विदेशको मोह त्यागेका अर्का सिसन श्रेष्ठले पनि ५० लाखको लगानीमा नेवारी किचन संचालन गरेका छन् ।जहाँ ७ जनाले रोजगारी पाएका छन् भने खर्च कटाएर मासिक ४ लाख रुपैयाँ आम्दानी भइरहेको छ । विदेश जाने लगानी स्वदेशमै लगाए प्रशस्तै पैसा कमाउन सकिने उनको बुझाइ छ ।

पर्यटकको चहलपहल बढेपछि खुल्न थालेका नयाँ होटलले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेकाले गुणस्तर पनि राम्रो हुन थालेको छ ।सदरमुकामा बेनीमा मात्र अहिले २ सयभन्दा बढी होटल तथा रेष्टुरेन्टहरु संचालनमा रहेका छन् ।म्याग्दीका पर्यटकीय स्थलहरुको व्यापक प्रचार प्रसार गर्न सके व्यवसायीहरु अझै बढ्ने होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्य बताउँछन् ।

 

Exit mobile version