बेनी नगरपालिका वडा नं ५ पुलाचौरको पुरण्यमा २ सय ५० वर्ष पुरानो राती आँफै बज्ने ऐतिहाँसिक दमाहा भेटिएको छ । पुरण्यका इन्द्रबहादुर दर्जी (साइलो) को घरमा उक्त दमाहा भेटिएको हो । पुला क्षेत्रमा शताव्दीयौं पहिलाका बाजाहरु रहेका भन्ने जानकारी पाएपछि ती बाजाहरुको खोज अनुसन्धान गर्ने क्रममा स्थानीय बुद्धिजीवि तथा शिक्षक शिव बानियाँले खोजी गर्दै जाँदा इन्द्रवहादुर दर्जीको घरमा सो दमाहा भेटिएको हो ।

‘मैले यस क्षेत्रमा धेरै पुराना बाजाहरु रहेका छन् भन्नु कुरा स्थानीय बृद्धबृद्धाहरुबाट थाहा पाएपछि ती ऐतिहाँसिक बाजाहरुको खोजी गर्नु पर्छ भन्ने लागेर खोज्दै जाँदा दुई दिन अघि मात्र त्यो दमाहा भेटाएको हुँ’ स्थानीय शिव बानियाँले भन्नुभयो । बानियाँका अनुसार पुला (साविकको पुलाचौर गाविस) क्षेत्रमा २ सय ५० वर्ष अघि हुम्ला जिल्लाबाट बानियाँ,छिनेल,दर्जी (दमाई) र पौडेलहरु बसाइसरेर संगसंगै आएका र सोही समयमा तत्कालिन दमाई (दर्जी) जातीले यो दमाहा पुलामा ल्याएका किंवदन्ती छ ।

पुस्तान्तरण हुँदै अहिले इन्द्रवहादुर दर्जीको जिम्मामा आएको यो दमाहा राती कसैले नबजाए पनि आँफै वज्ने र राती आफूले त्यसको आवाज सुन्ने गरेको इन्द्रवहादुर दर्जीले जानकारी दिनुभएको छ । अझ अचम्मको कुरा त के छ भने दमाहा अहिले पनि नयाँ जस्तै देखिन्छ । त्यसमा कुनै खराबी नआएको र बजाउँदा अरु दमाहा भन्दा चर्को र बेग्लै आवाज निस्कने गरेको स्थानीयले बताएका छन् ।

दर्जीले दिएको जानकारी अनुसार उक्त दमाहा राती कहिलेकाही मात्र बज्ने गर्दछ । सुरुसुरुमा आफूलाई दमाहा बज्दा ढर लागेको भए पनि अहिले बानी परिसकेको उहाँले बताउनुभयो । उक्त दमाहा पहिले स्थानीय रल्ले बूढा भन्ने व्यक्ति कहाँ रहेको र २०६० सालमा तत्कालिन नेकपा माओवादीले म्याग्दी आक्रमण गरेपछि त्यो दमाहा आफूले राख्दै आएको दर्जीले बताउनुभयो ।

आफ्नो गाउँमा ऐतिहाँसिक दमाहा भेटिएपछि त्यसको संरक्षणमा स्थानीयले चासो देखाएका छन् । स्थानीय बरनाथ आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम दर्जीले ऐतिहाँसिक महत्वका त्यस्ता बाजाहरुको संग्रहालय नै बनाएर राख्न सके पछिल्लो पुस्तालाई देखाउन र ती बाजाहरुको महत्व बुझाउन सजिले हुने बताउनुभयो । दमाहा पत्ता लागेपछि त्यसको संरक्षण गर्नुपर्ने र सम्वन्धित निकायको पनि ध्यान जानु पर्ने स्थानीय यामवहादुर बानियाँले बताउनुभयो ।

Leave a Reply