म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा स्थानीयको सक्रियतामा स्थापना भएको चिज उद्योगबाट उत्पादित चिज बजार अभावमा भण्डारमै थन्किएको छ । वि.स २०७१ बैशाखदेखि सञ्चालनमा रहेको हिमालय चिज उद्योग तथा कृषि सहकारी संस्थाले उत्पादन गरेको चिज गुणस्तरीय भएपनि बजारको समस्याले नियमित विक्रीमा समस्या भएको संस्थाका सचिव श्यामप्रसाद खड्काले बताउनुभयो ।

अफ सिजनमा विक्री नहुदाँ कृषक समस्यामा परेका छन् । बजारको खोजीमा सहकारीमार्फत विभिन्न स्थानमा समेत पुगेको बताउँदै लगानी, उत्पादन क्षमता र जनशक्तीको कुनै समस्या नभएपनि बजार ब्यवस्थापनको दृष्टिकोणले चुनौती देखिएको सहकारीले जनाएको छ।

१० लिटर दुधबाट एक केजी चिज उत्पादन हुन्छ । कृषकहरूको दूध संकलन गरेर चिजसँगै घिउ उत्पादन गरी विक्री गर्ने गरिएको छ। चिज र घिउ प्रति केजी ८ सय ५० मा विक्री हुने गरेको छ । घिउ गाउँ आसपासमै खपत हुने भएकाले पनि घिउको आम्दानीबाटै अफ सिजनमा कृषकलाई भुक्तानी दिने गरिएको छ। गाउँका ३२ जना अगुवा कृषकले दैनिक खपत गर्ने दुधलाई उद्योगले प्रति लिटर ४५ देखि ७० रुपैयाँसम्म उपलब्ध गराउने गरेको छ । चिजको नियमित खपत नहुदाँ कृषकलाई दूध खरिद गर्न र भुक्तानी दिन समस्या भइरहेको छ।

 

व्यावसायिक रुपमा उन्नत जर्सी र होल्यड जातको गाई पालनमा ५० हजारदेखि ३ लाखसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि १ लाखदेखि ३ लाखसम्म लगानी गरी स्थानीयले उन्नत जातको गाई खरिद गरेका छन् । चिज उद्योगबाट एकजना कृषकले मासिक ७ हजारदेखि ३२ हजारसम्म आम्दानी गर्ने गरेका छन् । गतबर्ष उद्योगबाट चिज र घिउ गरी ३८ लाखको कारोबार भएको थियो । प्रोटिनयुक्त स्वादिलो, शक्तिवद्र्धक एवम् स्वास्थ्यका लागि हितकारी मानिने चिजलाई राज्यका निकायले प्राथमिकता दिन सकेमा विदेशमा समेत खपत गर्न सकिने सम्भावना रहेको छ । गाउँपालिकाकै वडा नं ५ पाउद्धारमा समेत चिज उद्योग रहेको छ ।

Leave a Reply