म्याग्दीको एकमात्र नगरपालिकामा बेनी नगरपालिका अस्तव्यस्त वन्दै गएको छ । नगरको विकास र जनताको सेवाका लागि भनि जनताले चुनेका प्रतिनिधिहरु विचमा नै पार्टीगत स्वार्थ बाझिएपछि अहिले नगरपालिकामा भाँडमैलो मच्चिएको छ।बेनी नगरपालिकामा प्रमुख सहित १ वडाअध्यक्ष नेपाली कांग्रेस, उपप्रमुख राष्टिय प्रजातन्त्र पार्टी र ९ वटा वडाअध्यक्ष नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि छन् ।

नगरप्रमुख र कार्यपालिका सदस्यहरुबिच हरेक विषयमा विवाद हुँदै आएपछि नगरपालिकाको दैनिक कामकाज,योजना र जनतालाई प्रवाह गरिने सेवा समेत प्रभावित हुने गरेका छन् ।पछिल्लो समय जेठ ३ गते बसेको नगरपालिकाको ४० औ बैठकमा शिक्षा शाखाका कर्मचारी नियुक्त गर्ने बिषयमा सहमती नजुटेपछि मेयर र कार्यपालिका सदस्यहरुबिचको विवाद उत्कर्षमा पुगेको हो । सो बैठकमा विविध छलफल सहित तय भएका एजेण्डाहरु मध्ये १३ वटा सर्वसम्मत निर्णय भएको थियो ।

बैठकको १४ औँ नम्बरको निर्णयको लागि तय भएको शिक्षा युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने बिषयमा मेयर र कार्यपालिकाका अन्य सदस्यहरुको मत बाझिएको हो । बेनी नगरपालिकाको शिक्षा शाखामा कार्यरत रहेका तत्कालिन स्रोत व्यक्तिहरु मोहन बहादुर बानियाँ, दुर्गाराम सुवेदी र केशव रेग्मी सरकारले साविकका स्रोत केन्द्र खारेज गरी स्रोत व्यक्तिहरुलाई सम्बन्धित विद्यालयमा पठनपाठनको लागि खटाउने गरि व्यवस्था गर्न भनेपछि सम्बन्धित विद्यालयमा फिर्ता भएका थिए ।

नगरपालिका बैठकमा शिक्षा युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापनमा तत्कालिन स्रोत व्यक्तिहरुलाई नै निरन्तरता दिने कि ? नयाँ ल्याउने भन्नेमा विवाद भएपछि करिब दुई सातादेखि नगरपालिकाका मेयर र कार्यपालिका सदस्यहरुबिच विवाद चुलिएको छ भने बैठक समेत अनिश्चित बनेको छ । बैठकमा जनशक्ति व्यवस्थापनमा विवाद बढेपछि नगरप्रमुख हरिकुमार श्रेष्ठले बिचैमा बैठक स्थगित गर्न भन्दै बैठकबाट बाहिरिएका थिए ।

मेयर श्रेष्ठ बाहिरिएपनि सो बैठकले शाखामा तत्कालिन स्रोत व्यक्तिहरु मोहन बहादुर बानियाँ र जयराम सुवेदीलाई जनशक्ति व्यवस्थापन गर्ने निर्णय गरेको थियो । मेयर श्रेष्ठले बिचैमा बैठक छाडेपछि बहुमतबाट जनशक्ति व्यवस्थापन गर्ने निर्णय गर्नुपरेको नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिए । ‘ उहाँले नै राखेका एजेण्डामा छलफल भएको हो, बिना कारण बिचैमा बैठक छाडेर जानु नगरप्रमुखको गैरजिम्मेवारपन हो, बैठकमा सहभागी सबै कार्यपालिका सदस्यहरुको सहमतीमा निर्णय भएको हो’– प्रवक्ता बराईलीले भने ।

३ गते बसेको ४० औँ बैठकको १४ औँ नम्बरको निर्णयमा असन्तुष्ट रहेका मेयर श्रेष्ठले जेठ ५ मा बैठकको निर्णयमा आफ्नो फरकमत जाहेर गर्दै ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । बैठक सम्पन्न भएको दुई दिनपछिको मिति राखेर मेयर श्रेष्ठले बैठको निर्णय पुस्तीकामा बिशेष परिस्थितिवस बैठक स्थगित गरिएपनि आफ्नो अनुपस्थितिमा गैर कानुनी रुपमा निर्णय गरेको उल्लेख गर्दै निर्णय कार्यान्वयन नगर्न प्रमुख प्रशासयिक अधिकृतलाई निर्देशन समेत दिएका छन् ।

सोे बैठकमा २० जना कार्यपालिका सदस्य र निमिक्त प्रमुख प्रशासकिय अधिकृत मध्ये २ जना कार्यपालिका सदस्य अनुपस्थित रहेका थिए भने बैठकको निर्णयमा मेयर श्रेष्ठ र एक जना सदस्य बाहेक अन्य सबैले हस्ताक्षर गरेका छन् । कार्यपालिका बैठकको निर्णय प्रमुख प्रशासकिय अधिकृतले २ दिनभित्रमा प्रमाणीकरण गर्ने प्रावधान रहेपनि मेयर श्रेष्ठले तेस्रो दिनमा मात्रै फरक मत जाहेर गरेको पाइएको छ ।

मेयर र कार्यपालिका सदस्यहरुबिच शिक्षा शाखाको कर्मचारी व्यवस्थापनमा कस्लाई ल्याउने भन्नेमा विवाद बढेपछि सोही दिन भएका आगामी आर्थिक बर्षको योजना तर्जुमा गर्ने, बृहत छलफल गर्ने, विभिन्न संघ संस्थालाई सहयोग गर्ने, बजेट तथा योजना संशोधन गर्ने लगायतका १३ वटा निर्णय समेत कार्यान्वनयमा अन्यौलता छाएको छ । विवादको कारण कार्यपालिका बैठक अनिश्चित हुँदा नगरपालिकाका जनप्रतिनिधिबिच आपसी मनमुटाब बढेको छ भने नियमित कार्य समेत अस्तव्यस्त बनेको छ ।

नगर कार्यपालिका बैठकको निर्णय विवादित बनेपछि संघिय मामिला मन्त्रालयमा रायको लागि औपचारिक पत्राचार गरिएको नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद पराजुलीले जानकारी दिए । विभिन्न कानुन व्यवसायि र कानुनी क्षेत्रमा काम गर्ने व्यक्तिहरुबाट कार्यपालिका बैठकको विवादीत बनेको निर्णय कार्यान्वयनबारे फरक फरक धारण आएपछि नगरपालिका थप अन्यौलमा परेको छ । नगरपालिकामा मेयर काँग्रेस, उपमेयर तत्कालिन एमालेको समर्थनमा राप्रपाबाट र १० वटा वडा मध्ये एउटा वडा बाहेक अन्यमा नेकपाबाट निर्वाचित प्रतिनिधि रहेका छन् ।

Leave a Reply