पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्गको निर्माणकार्यले तिब्रता पाएको छ । सदरमुकाम बेनीबाट छोटो र सुन्दर गन्तब्यको रुपका विकसित भइरहेको बेनी नगरपालिका–२, ज्यामरुककोटस्थित खबरामा रहेको पर्यटकीयस्थल लभ्लीहिल पुग्ने पदमार्गमा आवश्यक जनशक्तीको अभाव तथा विविध कारणले रोकिएपनि दुईसाता यता निर्माणकार्यले तिब्रता पाएको हो ।

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाटलभ्लीहिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्यमा पर्यटन विकासका लागि लभ्लीहिल सम्म पुग्नका लागि मोना–बेनी–लभ्लीहिल पदमार्ग नामाकरण गरिएको पदमार्गको गत भदौ ८ गते शिलन्यास गरिएको थियो ।

बेनी–बगरफाँट सडक नजिकबाट सुरू गरिएको पदमार्गको ढलान सहित आवश्यक संरचना बनाउने कार्य धमाधम भइरहेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए । उनका अनुसार पदमार्ग ढलान सहित रेलिङ समेत राखिने बताए ।‘यहाँको जनशक्तीलाई कालिगण्डकी तटबन्धन बनाउन खटाइएको थियो,‘त्रिपक्षीय सहमति अनुसार नै काम भइरहेको छ’ कर्माचार्यले भने ।

उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटकलाई सहज आवतजावतका साथै नगरपालिका भित्रका पर्यटकीय गन्तब्यलाई चिनाउने अभियानलाई पदमार्ग निर्माणमा बेनपाले ५० प्रतिशत, मोना आईइसीले ४० र म्याग्दी उवा संघले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो । हालसम्म मोना आइसीले सम्झौता अनुसार १५ लाख उपलब्ध गराइसकेको मोना आइसीका उपाध्यक्ष एवम् पदमार्ग संयोजक ओमनारायण जुग्जालीले बताए । ‘मोनाले एकमहिना भित्र सबै रकम पठाउँछौ,‘पदमार्गले म्याग्दीको पर्यटनको क्षेत्रमा महत्वपूर्ण योगदान दिनेछ’जुग्जालीले भने ।

तिनसय ९५ मिटर उकालोमा १.८ मिटर चाक्लो, पक्की सिँढी र दायाँबायाँ रेलीङ सहितको पदमार्ग निर्माण गर्न मोनाले करिव ३२ लाख आर्थिक सहयोग गर्ने छ । पदमार्गको प्रारम्भीक चरणमा ५७ लाख ८ हजार ९०६ रुपैयाँ लागत अनुमान गरिएपनि हाल ७९ लाखमा पदमार्ग सम्पन्न गर्ने गरी काम भइरहेको छ । पदमार्गको करिव दुईसय मिटर निर्माणकार्य बाँकी रहेको छ । पदमार्गसँगै नगरपालिकाले लभ्लीहिलमा यूद्ध स्मारिका पार्क सहित डिभिजन बन कार्यालयले समेत बन वाटिका बनाइरहेको बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठले बताए । उनले पदमार्गलाई नगरपालिकाले समेत प्राथमिकता दिएको बताए ।

सामुदायिक बन उपभोक्ता समितिलाई समेत आम्दानी हुने गरी फलफुलका विरुवाका साथै ठाँउठाँउमा आवश्यकता अनुसार मिनि बगैचा बनाएर विश्रामस्थलको योजना छ । बेनीको शीरमा अवस्थित लभ्लीहिलमा नगरपालिका सहित विभिन्न संघसंस्थामार्फत आरामदायी बेन्च, गोलघर (भ्यु प्वाईन्ट) र चौतारी लगाएतका संरचना बनेका छन् । बेनीदेखि आधा घन्टाको दूरीमा रहेको लभ्लीहिलबाट बेनीबजार, गलेश्वर, पौलस्त्य आश्रम, भकिम्लीको स्वर्गाश्रम उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौं अग्लो चुचुरो धौलागिरि, अन्नपूर्ण हिमाल तथा सूर्योदयको समेत अवलोकन गर्न पाइन्छ ।

Leave a Reply