अब म्याग्दीबाटै पूर्व भारतीय सेनाले पेन्सन पाउने भएका छन् । भारतीय सेनावाट सेवा अवधि पुरा गरेकाले विगतमा छिमेकी जिल्ला बागलुङका साथै पोखराबाट सेवा लिने गरेको अवस्थामा सदरमुकाम बेनीस्थती विरेन्द्रचोकमा जिल्ला शैनिक बोर्डको स्थापना गरी सेवा सुरु गरिएको छ । गोर्खा भुपु सैनिक बचत तथा ऋण सहकारी संस्थाको भवनमा तीनजना कर्मचारी सहित पेन्सन वितरण तथा अन्य कागजातहरुको समस्या समाधानका लागि परामर्श दिइने भुपुसैनिक कल्याणकारी सेवा केन्द्र म्याग्दीको अध्यक्ष क्याप्टेन मीनबहादुर कार्कीले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार विगतमा पेन्सन वुझ्नका दुईदिनको यात्रा गरी बागलुङसम्म जानुपर्ने अवस्थालाई अन्त्य गरिएको बताए । उनले पेन्सन बुझ्न जिल्लाबाहिर जादाँ समय र आर्थिक भारलाई अन्त्य गदै सेवालाई प्रभावकारी बनाउने बताए । म्याग्दीमा करिव ४ हजार भारतीय सेनाबाट निवृत्त भएका तथा परिवारले पेन्सन सुविधा लिने गरेका छन् । जिल्लाको अति विकट गुर्जा, कुईनेमंगले, मल्कवाङबाट बृद्धबृद्धालाई बोकेर जिल्ला बाहिर लैजादाँ विगतमा पेन्सन नै लुटिने गरेको थियो । टाढा टाढाका पेन्सनरहरु सदरमुकाम बेनीबाटै सेवा लिन सहज भएपछि ब्यापारिक कारोबार समेत बढ्ने अनुमान गरिएको छ ।

पेन्सन सिजनसँगै निक्कै भिडभाड र चहलपहल हुने भएकाले होटल तथा किराना, फेन्सी ब्यवसायी समेत उत्साहित छन् । गोर्खा भुपु सैनिक सहकारीले पेन्सन सेवाका लागि आउने सेवाग्राहीलाई लक्षित गरी होटल समेत सञ्चालन गरेको छ । पेन्सन क्याम्प ल्याउन भुपु भारतीय सेनाका अगुवाहरुले एकदशक देखि प्रयास गरेका थिए । अस्थायी रुपमा सञ्चालन हुने क्याम्पलाई संरचना सहित थप योजना बनाएर स्थायी पेन्सन क्याम्प बनाउने बताइएको छ ।

Leave a Reply