नेपाल टेलिकमले नयाँ आफ्ना ग्राहकसामु नयाँ सेवा सुरु गरेको छ । टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको हो । कम्पनीले संस्थागत प्रयोगकर्ता समूह ‘कर्पोरेट युजर ग्रुप योजना’ अनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि एउटै संस्थामा कार्यरत कम्तिमा पनि १० जना मोवाइल प्रयोगकर्ता हुनुपर्नेछ । कम्पनीका अनुसार तर सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निशुल्क सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो सेवामा आबद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क वापत न्यूनतम प्याकेज रकम हुनुपर्ने कम्पनीले जनाएको छ । प्रिपेड मोवाइलमा मात्र उपलब्ध प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असिमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबिको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ । प्रिपेड वा पोस्टपेड दुवै मोवाइलमा ४ सयको संस्थागत प्याकेज लिंदा डेढसय मिनेट कुराकानी, ३ सय एमबिको इन्टरेनट र ५० वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply