नेपाली उखानै छ, ‘विपत्त बाजा बजाएर आउँदैन् ।’ तर, पटक–पटक दिइएको प्राविधिक सुझावलाई लत्ताउँदा म्याग्दीको सदरमुकाम बेनी बर्षेनी बाढीको जोखिममा परेको छ । बेनी–पाखापानी सडकखण्डको विस्तार तथा स्तरउन्न्तीको क्रममा चरम लापरवाहीका कारण बेनीबजारको क्याम्पसचोकदेखि न्यूरोडसम्म अर्थुङ्गेस्थित आँपारुख खण्ड आसपासका क्षेत्रबाट पानीसंगै झरेको लेदोमाटो, ढुङ्गा र गेगरसहितको बाढीले तहसनहस पारेको दृष्यलाई नजिकबाट हेरेका सरोकारवाला निकायकै चरम लापरवाहीले बेनीकै अस्पताल चोक, कालिपुल बसपार्क समेत बाढीको जोखिममा परेको छ ।

अस्पतालचोक देखि जामुनाखर्क क्षेत्र जोड्ने ग्रामिण सडकका कारण पुनः बेनीबजार बाढीको जोखिममा परेको छ ।
बेनी–जामुनाखर्क दु्रत मार्गको नामाकरण गरिएको सडकखण्ड आसपासमा लेदोमाटो, पहिरो तथा सडक विस्तारको क्रममा यत्रचत्र फालिएको माटोका कारण अस्पतालचोक आसपासका क्षेत्र उच्च जोखिममा छ । बेनी नगरपालिकाको वडा नं ६ र ८ जोड्ने सडकखण्ड विना मापदण्ड खनिएको छ । सडकखण्ड अन्तरगत भलबाढीले आसपासका बस्ती नै जोखिममा परेपनि जनप्रतिनिधि मौन बसेका छन् ।

करिव ६ लाखको लागतमा सम्पन्न भएको सडकखण्डमा पैदलयात्रा गर्न समेत मुस्किल छ । ‘बेनी थप जोखिममा पार्ने सडक खनिएको छ,‘सडकखण्डमा बाढी निम्त्याउने ठुला प्वाल छन्’ एक स्थानीयले भने। सडकखण्ड अन्तरगत पर्ने खरेनी बस्तीका बासिन्दा समेत सडक विस्तारबाट सन्तुष्ट छैनन् । करिव १.६ किलोमिटर सडकखण्ड अन्तरगत विभिन्न स्थानमा तत्काल ब्यवस्थापन गर्नुपर्ने अस्पताल चोकबासीको माग छ ।

‘समान्य बर्षामा पनि बाढी आएको छ,‘विकासको नाममा बेनीलाई बाढीले घेर्ने योजना जस्तै छ’ स्थानीयले भने । यता जामुनाखर्क आसपासका बासिन्दाले बेनी जोड्ने छोटो दुरीको सडक भएकाले मर्मत गर्नुपर्ने स्थानीय एवम् वडा नं ८ का सचिव कृष्ण सुबेदीले बताए ।

बेनी नगरपालिका वडा नं ६ र ८ का जनप्रतिनिधिले सडकको बचाउ गरेपनि मापदण्ड विपरित विस्तार गरिएकाले बजार असुरक्षित देखिएको छ । नगरपालिकाले उपलब्ध गराएको बजेट समेत ब्यवहारिक रुपमा कार्यान्वयन नहुनु, जनताको सहभागिता न्युन, प्राकृतिक खोल्सीहरूलाई निकास सहित जथाभावी सडकको विस्तार, आवश्यक पुर्वाधार निर्माणमा समेत चासो नपुग्नु नै बाढीको प्रमुख कारण भएको प्राविधिक पक्षको भनाई छ । पक्कि नाली, पानीको तिब्र गतिलाई नियन्त्रण र ठुला बस्तु रोक्ने छेकबाँध बनाउने र अस्पताल गेट देखि तल नाली सफा गर्नुपर्ने देखिन्छ ।

Leave a Reply