म्याग्दीको अन्नपुर्ण गाउँपालिका ६ घारका स्थानीयले गाउँपालिकाका केन्द्र पोखरेबगरदेखि पर्यटकीयस्थल घोरेपानी जोड्ने सडकको स्तरउन्नतीका क्रममा आयोजना पक्षले लापरवाही गर्दा बस्तीका बासिन्दा विस्थापितको जोखिममा परेका छन् । सडक विस्तारको क्रममा स्थानीयबासीले मापदण्ड अनुसार विस्तारमा सहयोग गरेपनि आयोजना पक्ष र ठेकेदारको चरम लापरवाहीले सडकखण्ड अन्तरगत वडा नं ६ मा पर्ने बस्ती जोखिममा परेको बताएका थिए ।

आयोजना पक्षको कमजोरीले बस्ती नै तहसनहस हुन लागेको बताउँदै बाढीको जोखिम न्यूनिकरण गर्न स्थानीयले माग गरेका छन् । सडकखण्ड अन्तरगत हल्लेखर्क, बिरौटा लगाएतका चारवटा बस्ती बाढी र पहिरोले धमाधम बस्ती जोड्न थालेका छन् । सडकखण्डकै कारण घरमा क्षती पुगेपछि रत्नकली बरुवाल, शेर बहादुर खड्काले घर छोडेर अन्यत्र जान बाध्य भएको स्थानीय गोकुल बरुवालले बताए ।

‘सडकखण्डमा मनपरी भएको छ,‘सडक विस्तारमा स्थानीयले सहयोग गर्दा समेत आयोजनापक्षबाट छातीमै प्रहार भएको महसुस गरेका छौ’ बरुवालले भने । विकासको नाममा गाउँभरी बाढीले ठूलो क्षती पुगेको छ । सडक विस्तारमा डोजरले मनपरी खन्दा बस्तीका साथै आसपासका खेतीयोग्य जमिन, सुन्तलाबारीमा समेत क्षती पुगेको बरुवालले बताए । ‘माटो ब्यवस्थापन गर्न नसक्दा बस्तीमै भलबाढी प्रवेश गरेको छ,‘तत्काल रोकथाम नगरे बैकल्पिक ठाउँमा जानुको विकल्प छैन’ स्थानीय यूवा राजाराम बरुवालले भने ।

उनका अनुसार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै घोडेपानी नजिकैको बस्ती चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडकखण्डमा कच्ची, साँघुरो र ग्रेड नमिलेको अवस्थामा रहेको सडकलाई फराकिलो बनाएर ग्राभेल, ढलान, ग्याब्रियन पर्खाल, मेशिनरी पर्खाल, ह्युम पाइप, कल्भर्ट, सोलिङ र ३.७५ किलोमिटर कालोपत्रे समेत गरिने जानकारी दिइएको थियो ।

३६ करोड ६९ लाख ५८ हजार १० लागत अनुमान गरिएको आयोजना निर्माणका लागि मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लख ३५ हजार २२० मा ठेक्का सम्झौता भएको थियो । विसं २०६५ मा तत्कालीन स्थानीय निकाय र समुदायले ट्र्याक खोलेको जिल्लाकै जोखिमयुक्त र कठिन मानिने पोखरेबगरदेखि घार, शिख, फलाते हुँदै चित्रे जोड्ने १८ किलोमिटर ५४० मिटर सडक स्तरोन्नतिको काम शुरु भएपछि स्थानीयवासी थिए ।

गत मङ्सिर ९ गते रु २७ करोड ९१ लाख ३५ हजार २२० मा ठेक्का सम्झौता गरेको मोतीदान–जयमाता जेभीले प्रारम्भिक चरणमा सडक चक्लाउने र पर्खाल लगाउने काममा मजदुर र एक्साभेटर परिचालन गरेको छ । विसं २०७७ जेठ २२ सम्म सम्पन्न गर्ने लक्ष्य रहेको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए । उनले सडकबाट स्थानीयलाई पुगेको क्षतीपूर्तीको माग भइरहेको बताए । उनले विकासका नाममा स्थानीयलाई विस्थापित हुने अवस्थाको अन्त्यका लागि गाउँपालिकामार्फत सम्बन्धित निकायलाई माग गरिएको समेत बताएका छन् ।

Leave a Reply