धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ । कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिनुभयो ।

प्रस्तावित सो केवलकारको डीपीआर निर्माणका लागि अस्ट्रेलियाको विशेष प्राविधियुक्त विमान तीन दिनअघि नेपाल आइपुगेको हो । सोही विमानको सहयोगमा डीपीआरको काम भइरहेको छ । नापी विभाग र निर्माण कम्पनीका प्राविधिकहरूको सहयोगमा डीपीआर निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।

अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुने बताउँर्दै इन्जिनियर त्वनाबासुले डीपीआर निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) हुने जानकारी दिनुभयो । उहाँका अनुसार सम्झौताको छ महिनाभित्र सो केवलकार निर्माणका लागि वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरु गरिने तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा थप विकसित तुल्याउन मद्दत पुग्ने सो केवलकार निर्माण कार्य समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।सो केवलकार निर्माणका लागि यसअघि नै फिजिविलिटी, जियोमेट्रिक लगायतको अध्ययन कार्य सम्पन्न भइसकेको छ । यसअघि भएका अध्ययनले सो केवलकार निर्माणको कुल लागत करिब ५० अर्ब रुपियाँ हुने देखाएको छ । सो केवलकारको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य समेत अहिले भइरहेको निर्मााण कम्पनीले जनाएको छ ।

कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालनका लागि २०७५ भदौ २७ गते लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शन केवलकार प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मुक्तिनाथ दर्शन केवलकार प्रालिका अध्यक्ष अरुणकुमार सुवेदीले समझदारी पत्रमा हस्तक्षर गर्नुभएको थियो । २०७५ वैशाख १५ गते बसेको लगानी बोर्डको बैठकले केवलकार निर्माण गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो ।

समझदारीपत्र अनुसार, हस्ताक्षर भएको डेढ वर्षभित्र निर्माण कम्पनीले डीपीआर तयार गरी लगानी बोर्डमा पेस गर्नुपर्ने हुन्छ। डीपीआर सकिएको तीन वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । डीपीआर निर्माणको जिम्मा मुक्तिनाथ दर्शन केवलकार प्रालिले पाएको छ । १९ वटा स्टेसन रहने प्रस्तावित सो केवलकारको सुरुको पहिलोे स्टेशन कास्कीको वीरेठाँटी वा नयाँपुलमा हुने निर्माण कम्पनीले जनाएको छ । । त्यसैगरी, त्यसपछि क्रमशः टिकेढुङ्गा, घोरेपानी, सिखा, पाखरेबगर, तातोपानी, काभ्रे, घासा, कालोपानी लेते, कोवाङ चोखोपानी, टुकुटे, मार्फा, जोमसोममा स्टेसन प्रस्ताव गरिएको छ । केवलकारको अन्तिम स्टेसन मुक्तिनाथमा हुनेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

Leave a Reply