प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी काण्डमा तत्कालीन पर्यटन, नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको दाबी गरेका छन्। रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार पोखरामा उद्घाटन गर्दै उनले केहि भुईंफुट्टा व्यक्ति तथा संस्थाले अधिकारीको बद्नाम गर्ने उद्देश्यले संलग्नता नै नभएको वाइडवडी काण्डमा नाम मुछेको बताएका हुन्। अधिकारी मन्त्री हुनुभन्दा अघिको प्रसंग ल्याएर उनको बद्नाम गर्न प्रयास भएको उनको भनाइ थियो।

‘कुनै अदालतले फैसला नगरेको कुरामा दोषी छ भन्न पाइन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘केही असभ्य र पूर्वाग्रही मान्छेले बद्नाम गर्ने उद्देश्यले उहाँको नाम लिएका हुन्। स्वर्गीय अधिकारी स्वच्छ आचरण भएको, स्वच्छ छवी भएको, कर्मठ, क्रियाशील व्यक्ति हुनुहुन्थ्यो।’ प्रधानमन्त्री ओलीले केही भुईंफुट्टा व्यक्ति र संस्थाले आफूलाई रवीन्द्र अधिकारी निर्दोष रहेको भन्नसमेत नदिएको बताए। ‘केही भुईंफुट्टा व्यक्ति मिलेर एउटा तथाकथित संस्था गठन ग¥यो अनि निर्दोष छ भन्न पाइन्छ ? प्रधानमन्त्रीले त्यस्तो भन्न पाउँछ भन्यो। निर्दोषलाई निर्दोष भन्न किन पाईंदैन ?,’ उनले थपे, ‘निर्दोषलाई निर्दोष भन्न नदिने को हुन् ती न्यायाधीश हुने ?’

प्रधानमन्त्री ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र पुष्पलाल सबैभन्दा माथि भएको बताए। पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेको र मदनले छिन्नभिन्न भएको पार्टीलाई एकताबद्ध बनाएकाले उनीहरूसँग अन्य नेताको तुलना नै हुन नसक्ने बताए। मदन भण्डारीले विश्वभरिनै कम्युनिस्ट आन्दोलन धरासायी भइरहेको तथा अत्यन्तै रक्षात्मक स्थितिमा पुगेका बेलामा नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा गर्न ठूलो भूमिको खेलेको उनले बताए। प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपामा सबैले स्वीकारेको दाबीसमेत गरे। नेकपाले अहिले दुईतिहाइ ल्याउने स्थिति बन्नुमा पनि भण्डारी र जबजको महŒवपूर्ण योगदान रहेको उनको भनाइ थियो। ‘भण्डारी र उनले लिएको विचार अंगाल्न नसक्ने कम्युनिस्ट हुन सक्दैन,’ उनले भने, ‘मदन भण्डारीको कामसँग, विचारसँग, भण्डारीले बोकेको जवजको विचारलाई लिएर कुनामा बस्ने अनि कुरा काट्ने, फाल्तु गफ चुटेर विद्वान् पल्टिने कम्युनिस्ट हुन सक्दैन।’

प्रधानमन्त्री ओलीले विरोधीले उचाल्नका लागि र आन्दोलनमा समस्या खडा गर्नका लागि उकासेकै भरमा नफस्न नेताहरूलाई आग्रह गरे। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै उनले भने, ‘कम्युनिस्ट नेताहरू देश, जनता र पार्टीप्रति इमान्दार हुनुपर्दछ, त्यसलाई केन्द्रमा राखेर पद, प्रतिष्ठालाई ध्यान दिन थाल्यौं भने आन्दोलन नउठ्न सक्छ, मेरा ५४ वर्षे सक्रिय राजनीतिका आदर्श यिनै हुन्।’ केही दिनअघि दाहालले १५ महिनापछि ओलीले सत्ता हस्तान्तरण गर्नेमा विश्वस्त छु भनेर भनेकोबारे सांकेतिक जबाफ फर्काउँदै उनले देश र जनताप्रति निष्ठाका साथ अगाडि बढे मात्र सफलता हात पर्ने अन्यथा फेरि दाउपेच गर्न थाल्यौं भने उद्देश्य पूरा नहुने र सफलता हात नपर्ने बताए।

प्रधानमन्त्री ओलीले स्वर्गीय रवीन्द्र अधिकारीप्रति कास्कीले गर्व गर्नुपर्ने बताए। अधिकारी देश र जनतालाई सर्वोपरि मानेर विकास र समृद्धिका लागि इमान्दारीपूर्वक लागिराख्ने एक अथक कम्युनिस्ट योद्धा भएको बताए। ‘अधिकारी पार्टीविरुद्ध, नेतृत्वविरुद्ध जथाभावी बोलेर बहादुरी भइन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो,’ उनले भने, ‘कतिपयलाई लाग्नसक्छ पार्टीको निर्णयविरुद्ध बोल्यो भने, नेतृत्वविरुद्ध बोल्यो भने विरोधीले उचालिदिन्छन, फुकेर बेलुन बनाइदिन्छन्, वाह ! विद्वान त यस्तो हुन्छ भनिदिन्छन्, हो क्यार भन्दै कुद्ने त्यो रोग र भ्रम रवीन्द्रमा थिएन।’ उनले रवीन्द्रलाई २०३९ सालदेखि चिनेको तर कहिल्यै नमुस्काराएको नदेखेको बताए। nagariknews.com

 

Leave a Reply