साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले पुराना पार्टीबाट देशमा परिवर्तनको अपेक्षा गर्न नसकिने भन्दै नयाँ पार्टीमा आबद्ध हुन आग्रह गरेका छन्। हेटौंडामा शनिबार आयोजित मकवानपुर संयोजक घोषणा तथा जेष्ठ नागरिक र महिला चालक व्यवसायी सम्मान कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार अन्त्य गरी देशमा विकासको मूल फुटाउन पुरानो पार्टी त्यागी एकजुट हुनुपर्ने बताए।

‘नेपाली जनता कोही कांग्रेस, कोही कम्युनिस्ट भएर जकडिएर बसेका छन्,’ उनले भने, ‘विचार, आस्था र पार्टी परिवर्तन गर्न अप्ठ्यारो नमान्नुहोस्, इमान परिवर्तन गर्नु हुँदैन तर आबद्धता परिवर्तन गर्नुपर्ने हुन्छ।’ ‘नेपाल धेरै धनी हुन सक्ने देश हो, तर गएको ७० वर्षदेखि केही व्यक्तिले कंक्रिटको राम्रो घर बनाए पनि मानिसको जिन्दगीमा सुधार आएको छैन,’ उनले भने। देश यथास्थितिमै रहनुको मूल जड पुराना राजनीतिक दल र नेता भएको आरोप लगाउँदै उनले कुनै संकोच नमानी नयाँ पार्टीमा आवद्ध भई देश विकासमा लाग्न अनुरोध गरे।

पुराना पार्टीका केही नेता असल भए पनि अधिकांश नेताहरू धेरै भ्रष्ट रहेको भन्दै उनले चप्पल लगाएर जनताको नाममा राजनीति गरेर महलमा बस्ने गरेको आरोप लगाए। ‘तपार्इंहरू(जनता) बिरामी परेर सामान्य उपचार पनि गर्न नसक्दा नेताहरू श्रीमतीलाई लिएर विदेश उपचार गराउन गए,’ उनले भने।

पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभाग प्रमुख मुमाराम खनालले समावेशी लोकन्त्रका नाममा समावेशी लुटतन्त्र भइरहेको भन्दै प्रत्येक मन्त्रीको सम्पत्ति छानबिन गर्नुपर्ने बताए। ‘श्रम गर्नेको कहिल्यै अवस्था राम्रो हुँदैन, तर नेताको झोलेले कसरी प्रत्येक वर्ष घर बनाउँछ ?, कसरी सम्पत्ति बढिरहेको छ ?,’ उनले भने, ‘त्यसैले २०४६ पछिको प्रत्येक मन्त्रीको सम्पत्ति छानबिन गरियोस्, कहिल्यै काम नगर्ने उनीहरूको अथाह सम्पत्तिको स्रोत के हो ?’

Leave a Reply