अन्नपुर्ण गाउँपालिका वडा नं ५ शिख स्वास्थ्य चौकीमा जिवनजल लिन पुगेका एक स्थानीयलाई स्वास्थ्य चौकी इन्चार्ज हेम पुनले जिवनजल नभएकाले तातोपानी पिउन सल्लाह सुझाव दिए । घरमा छोरालाई पखाला लागेपछि तीनपटकसम्म स्वास्थ्य चौकीमा पुगेका स्थानीयले जिवनजल सहित आवश्यक औषधीहरुको अभावका कारण छिमेकी वडा घारमा पुगेर ल्याउन सुझाव दिएका थिए ।

विगत तीनमहिना सरकारले निशुल्क उपलब्ध गराएका औषधीको समेत अभाव भएपछि शिख आसपासका बासिन्दाले गाउँपालिकाको केन्द्र पोखरेबगर सहित आसपासका क्षेत्रमा जाने गरेका छन् । गाउँमा नीजि क्लिनिक ‘समेत नभएकाले सरकारले उपलब्ध गराउने ३५ प्रकारका औषधी समेत नभएकाले महंगोमा खरिद गर्नुपर्ने शिखबासीको गुनासो छ ।‘गर्मीको समयमा जिवनजलको माग धेरै हुन्छ,‘जिवनजल पनि छैन भन्दा स्थानीय आक्रोशित हुनुहुन्छ’ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको गुनासो छ ।

सरकारले सर्वसाधारणको हितलाई ध्यानमा राखि मुलुकका सवै सरकारी संस्थाहरुमा निशुल्क औषधिको व्यवस्था गरेको भएपनि गाउँपालिकाको लापरवाहीका कारण शिखमा सहजै औषधीको ब्यवस्था हुन सकेको छैन्। मेट्रोनिडाजोल, एम्लोडीपीन, सालमुटामोल, रेनिटिडिन, इन्जेक्सनको अभाव हुने गरेको छ । समान्य विरामीलाई समेत आवश्यक पर्ने औषधी समयमै ढुवानी नहुदाँ समस्या भएको वडा अध्यक्ष दिनेशकुमार पुनले बताए ।

‘स्वास्थ्यमा अभावै अभाव छ,‘मागे अनुसारको औषधी आउँदैन्,‘एकै प्रकारका औषधीहरु मात्रै थुप्रिन्छन’ उनले भने । गाउँमा अति आवश्यक औषधीहरुका बारेमा केहीदिन अगाडी आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा समेत शिख र पाउद्धारबासीले चर्को आवाज उठाएका थिए । विकास निर्माणका योजनाहरुलाई प्राथमिकतामा दिने गरेकोले पनि स्वास्थ्यको क्षेत्रमा कम प्राथमिकता दिने गरेको स्थानीयको आरोप छ ।

सोही कार्यक्रममा स्थानीयको मागलाई सम्बोधन गदैं गाउँपालिका अध्यक्ष डम बहादुर पुनले स्टोरमा रहेको औषधीलाई तत्काल स्वास्थ्य चौकीमा वितरण गर्न निर्देशन समेत दिएका थिए ।गाउँपालिकाले खरिद गरेको औषधीमा जिवनजल लगाएतका अत्यावसेक औषधी नभएको बताइएको छ । गाउँपालिकाको स्टोरमा रहेको औषधीलाई सबै वडाका स्वास्थ्य चौकीमा वितरण गरिने स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले बताए । उनका अनुसार आगामी बर्षको बजेटमा गाउँपालिकामा आवश्यक औषधीलाई प्राथमिकता दिएर खरिद गरिने बताए ।

Leave a Reply