म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ दोवामा आइतबार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा सहभागि स्थानीयबासीहरुले दरबन्दि अनुसारका जनशक्तिको व्यवस्थापन, सेवा प्रवाहमा सुधार, टुक्रे योजना कटौती, व्यवसायिक कृषि र पशुपालनको प्रर्वद्धन, रोजगारी सिर्जना, आयोजना व्यवस्थापन खर्च कन्टेन्जेन्सीको पारदर्शी परिचालन गर्न सुझाव दिएका छन् ।

सेवा प्रवाह र योजना कार्यान्वयनमा ढिलासुस्ती भएको, सामाजिक विकृति विरुद्ध अभियान चलाउनुपर्ने पनि स्थानीयको भनाई थियो । गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आठ वटै वडामा सार्वजनिक सुनुवाइका क्रममा देखिने किसीमको योजना सञ्चालन गर्न सुझाव पाएको बताउनुभयो ।

धेरै जनतालाई लाभ पुग्ने, दिर्घकालिन महत्वका योजना छनौट गर्न र कार्यान्वयनमा सघाउन सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाले यस वर्षदेखि डोजरको प्रयोगलाई पारदर्शी र प्रतिस्पर्धी बनाउँदा राज्यको अनावश्यक खर्च हुनबाट जोगिएको उल्लेख गर्नुभयो टुक्रे योजना कटौती गरी असारे विकासको अन्त्य गर्न र विकासलाई दिगो, प्रभावकारी र पारदर्शी बनाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले दरबन्दिको तुलनामा २५ प्रतिशत मात्र जनशक्तिले काम गर्नुपर्दा गाउँपालिकाको सेवा प्रवाहमा असर परेको स्विकार गर्दै उपलब्ध जनशक्तिबाट सहज, छिटो, छरितो सेवा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।

वडा अध्यक्ष दिलीपकुमार गर्बुजाले गाउँको विकासमा समुदायको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो । उहाँले वडाका सरोकारवालाहरुसंग समन्वय गरेर विकासमा अघि बढाउन खोजेको बताउनुभयो ।कार्यक्रममा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामी, आर्थिक विकास समितिका संयोजक आत्मा तुलाचन, कृषि प्राबिधिक सम्झना खत्री लगायतले सहभागिले सोधेका प्रश्नको जवाफ दिनुभएको थियो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माको स्वागत र सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यको सञ्चालनमा सम्पन्न भएको कार्यक्रमको म्याग्दी मिडिया सोसाइटीका सन्तोष गौतम र राकेश शर्माले सहजिकरण गर्नुभएको थियो ।

Leave a Reply