बेनी नगरपालिकामा निर्वाचित नेकपाका जनप्रतिनिधिहरूले अस्वभाविक रुपमा सेवासुविधा नलिएको बताएका छन् । चालु आर्थिक बर्षको बजेट विनियोजित बजेटमा जनप्रतिनिधि केन्द्रित सेवासुविधाका बारेमा प्रकाशित समाचारमा गम्भीर ध्यानर्कषण भएको बताउँदै सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति असहमति जनाउँदै जनप्रतिनिधिलाई भत्ता र सुविधामा विनियोजित शिर्षकमा खर्च नभएको बताएका हुन् ।

बेनी नगरपालिका वडा नं ८ का अध्यक्ष एवम् प्रबक्ता रामकृष्ण बराईलीले जनप्रतिनिधिले सुविधाभन्दा पनि सेवाप्रति केन्द्रित भएको बताए । ‘जनप्रतिनिधिबाट अनावश्यक खर्च भएको छैन्,‘समाचारले जनतामा भ्रम छर्ने काम भएको छ’ उनले भने । उनले चालु आवमा नगरसभाबाट पारित गरेको बजेट पुस्तिकामा पदाधिकारीका तलब, भत्ता, अनुगमन, भ्रमण खर्च, भाडा तथा इन्धनमा अस्वभाविक रुपमा बजेट विनियोजित गरिएको सार्वजनिक भएकाले हरेक हिसाव जनताको माझमा लैजान तयार रहेको बताए ।

‘अस्वभाविक शिर्षकको बजेट खर्च नै भएको छैन,‘आर्थिक रुपमा पारदर्शी नै छौ’ बराईलीले भने । उनले भ्रमण खर्च, संचार खर्च, बैठक भत्ता, न्यायिक समितिको भत्ता, अनुगमन मुल्यांकनमा चालु आर्थिक बर्षको साउनदेखि बैशाख सम्म जम्मा ५८ लाख २ सय ७५ रुपैयाँ खर्च भएको बताए। खर्चको विवरण सार्वजनिक गदैं प्रबक्ता बराईलीले उपमेयर मासिक ३० हजार, वडा अध्यक्षको लागि २० हजार, कार्यपालिका सदस्यलाई १० हजार र वडा सदस्यलाई ७ हजार तलब सुविधा बुझ्ने गरेको बताए ।

मेयर हरिकुमार श्रेष्ठ शिक्षकबाट अवकास प्राप्त भएकाले दोहोरो सुविधा लिन नमिल्ने भएपनि मेयर श्रेष्ठले भ्रमण खर्च बापत १ लाख ९ हजार ८ सय, उपमेयर सञ्जु बरुवालले भ्रमण खर्च बापत रु ४० हजार २५०, बेनपा–४ का वडा अध्यक्ष गोविन्द प्रसाद पौडेल ३ हजार ६ सय र कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माले २ हजार २ सय ९५ बुझेको विवरण सार्वजनिक गरिएको थियो । त्यस्तै वडा अध्यक्षले मासिक इन्धन खर्च १ हजारमा कर कटाएर र सञ्चार सुविधा १ हजार थप लिने गरेको बताए । त्यसबाहेक अन्य कुनै सुविधा नलिएको जनप्रतिनिधिको भनाई थियो ।

जनप्रतिनिधिले गत आवमा लिएको सुविधाका बारेमा पत्रकारले प्रश्न सोधेका थिए । गत आवमा नगरपालिकाकै पुस्तिकामा जनप्रतिनिधिको नाममा ठूलो खर्च भएको विवरण सार्वजनिक भएपनि जनप्रतिनिधिले उक्त विवरण गलत भएको बताएका थिए । पत्रकार सम्मेलनमा वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, कार्यपालिका सदस्य गौरी थापा, टकसरा राना र कृष्णकुमार विश्वकर्मा सहभागी थिए । यसैबीच नगरपालिकाले हरेक महिनाको खर्च सूचनापार्टीमा प्रकाशित गर्न थालेको जनाएको छ।

Leave a Reply