म्याग्दीस्थित अन्नपूर्ण गाउँपालिका नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निमार्ण सुरु भएको छ । प्रथम अन्नपूर्ण बेसक्याम्प जोड्ने पदमार्ग स्थानीयका अनुसार मौरिस हर्जोग हिडेको बाटो भनिन्छ  । पदमार्ग निर्माण कार्य अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा भएको हो ।

अन्नपूर्ण प्रथम बेसक्याम्पसम्म पदमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा पर्यटन विभागबाट २० लाख र गाउँपालिकाले ३ लाख विनियोजन भएको पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्द्रजित पहरे पुनले बताए ।निलगिरी जलविद्युत आयोजनाले नारच्याङ बाट छोटेपा हुँदै हुमखोलासम्म बाटो निर्माण कार्य गरिरहेको छ । उक्त स्थानसम्म कच्ची बाटो भएपनि गाडीमा जान सकिन्छ । हुमखोलाबाट भुस्केटको जंगल हुँदै करिब ४ हजार ४ सय मिटरसम्मको अन्नपूर्ण बेसक्याम्प पुग्न सकिने नारच्याङका अगुवा सुवास विकले बताए ।

सन्  १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्जोग पहिलोपटक आरोहण गरेको ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग विसं २०६८ मा स्थानीय बासिन्दाको अध्यान र पहलमा मार्ग बनाउन सुरु गरिएको हो ।  उक्त पदमार्गमा गत वर्षदेखि आन्तरिक तथा बाहिरी पर्यटको आवतजावत भएको छ । पर्यटनको सुरक्षा र आवतजावतको लागि जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा थप निर्माण गरि सहज र सुरक्षित गर्न लागिएको छ ।

पदमार्ग बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट ठाउँमा बन्दै गरेकोले आवतजावत सम्भव नभएकाले जङ्गलमै बास बसेर काम गरिएको पदमार्ग उपसमितिका अध्यक्ष राम बहादुर पुनले बताए ।  उपसमितिमार्फत पदमार्ग निर्माणमा २९ मजदुर परिचालन भएका छन् । आराम नगरी खाना र खाजा बाहेक मजदुर दिनमा १० घन्टा बढी पदमार्ग बनाउन तल्लिन हुन्छन् ।

पदमार्ग निमार्णको लागि गण्डकी प्रदेश सरकारले यस वर्ष १५ लाख, वडाले ३ लाख सहयोग गरेको छ भने एक्यापले अघिल्लो वर्ष १५ लाख र यस वर्ष १० लाखको स्वीकृति गरेको छ । गतवर्ष एक्यापको बजेटले दुइटा र अहिले एउटा पुल निर्माण भएतापनी फेरिपनि यो वर्ष थप तिनवटा पुल निर्माण गर्ने चन्द्रजित पहरे पुनले बताउँछन् । उनले आफ्नै लागतमा अन्नपूर्ण आधार शिविरमा २५ हजार सहयोग गरि शौचालय निर्माण पनि गरेका छन् ।

उनी भन्छन् कास्कीबाट जाने अन्नपूर्ण बेसक्याम्प प्राकृतिक रुपमा सुन्दर भएतापनि हिमाल चढ्न म्याग्दीमा पर्ने अन्नपूर्ण प्रथम बेसक्याम्प नै आउनुपर्छ ।अन्नपूर्ण आधार शिविरको प्राकृतिक सुन्दरता छदै छ त्यसमा हिन्दुधर्मावलम्बीको पाँच कुण्ड धाम यहि शिविरमा पर्छ ।उक्त धाम दर्शनको लागि पदमार्ग नहुँदा मुस्ताङको ताउलुङ हुँदै एकसाता जोखिमयुक्त बाटो भएर पर्यटक र भक्तजन दर्शन गर्न आउथे । तर अहिले पदमार्ग खुलेपछि आरोही र पर्यटक खाद्यान्न, बन्दोबस्तीका सामान सहित भरिया लिएर आउने गर्छन् । पछिल्लो समय पदमार्ग खुलेपछी केहि भारतीय हिन्दुधर्मावलम्बी पनि धामको दर्शन गर्न आइसकेका छन् । copyright: www.nplhk.com

Leave a Reply