बेनी नगरपालिका वडा नं ९ घतानको कोसेपानीको जंगलमा गत माघमा भेटिएको दुर्लभ मानिएको ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग वसाई सरेर अन्यत्र गएको छ । विगत ५ वर्षदेखि पंक्षी तथा जंगली प्राणीहरुको खोज अनुसन्धानमा लाग्नुभएका त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र उत्र्तीण) त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका प्रध्यापक केशव चोखालले माघमा कोसेपानीको जंगलमा दुर्लभ ‘किङ्ग कोब्रा’ अर्थात् राज नाग फेला पार्नु भएको थियो ।

‘किङ्ग कोब्रा’लाई नेपालीमा काली नाग,राज नाग भनेर चिनिन्छ । नेपालका लागि अत्यन्त दुर्लभ मानिएको सो सर्प पछिल्लो समय नेपालको मध्य पहाडी क्षेत्रहरुमा फाट्टफुट्ट देखिन थालेको प्राणी शास्त्रका अध्यता चोखालले बताउनुभयो । चोखालका अनुसार अनुकुल वासस्थानको अभावमा यो सर्प कोसेपानीको जंगलबाट वसाइ सरेको हुनसक्छ ।

बेनपा ९ का वडाअध्यक्ष बेलबहादुर चोखालले गर्मीलागेसंगै साविकको स्थानमा कोब्रा नदेखिएको बताउनुभयो । जाडोमा दिनको समयमा देखिने गरेको सो कोब्रा जेठ महिनायता नदेखिएको बताउँदै वडाअध्यक्ष चोखालले आफूलाई असुरक्षित गरेर अन्यत्र कही गएको हुनसक्ने बताउनुभयो ।

नेपालीमा राजनाग,कालिनाग भनिने यो सर्पको बैज्ञानिक नाम ओपिओपगुस हन्नह (इउजष्यउजबनगक ज्बललबज हो । यो विशेष गरेर तराई क्षेत्र वा संरक्षित क्षेत्रमा पाइने सर्प भएपनि पछिल्लो समय जलवायु परिवर्तनका कारण मध्य पहाडी क्षेत्रमा बसाइ सरेको हुनसक्ने चोखालको अनुमान छ । यो अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसको टोकेको जानकारी भने नरहेको चोखालले बताउनुभयो । यो सर्पलाई नचलाउने,नजिस्काउने र यसको नजिकमा नजाने हो भने यसबाट बच्न सकिने चोखालको भनाइ रहेको छ ।

म्याग्दीमा भेटिएको सो नाग ‘किङ्ग कोब्रा’ अर्थात राज नाग नै भएको किङ्ग कोब्राका विशेषज्ञ एवम् हिमालयन नेचरका अनुसन्धान अधिकृत जीवन थापाले पुष्टि गर्नुभएको थियो । विशेषज्ञ थापाका अनुसार नेपालमा पाइने ८२ प्रजातीका सर्पहरुमध्ये किङ्ग कोब्राको संख्या अत्यन्त न्यून रहेको छ । यो सर्प नेपालको मात्रै नभएर विश्वकै सबैभन्दा ठूलो विषालु सर्प हो । यो सर्प दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका १६ वटा देशमा मात्रै पाइन्छ । विश्वका १६ वटा देशमा पाइने भएपनि थाइल्याण्डको जंगली क्षेत्रमा बाहेक अरु ठाउँमा यो अत्यन्त दुर्लभ प्रजातीमा रहेको विशेषज्ञ थापाले बताउनुभएको छ ।

‘किङ्ग कोब्रा’ अर्थात राज नागका विशेषज्ञ थापाका अनुसार यसले आहाराको रुपमा अरु सर्पलाई नै खाने गर्दछ । कहिलेकाँही आफ्नै प्रजातीका सर्पलाई पनि खाने गरेको अनुसन्धानबाट भेटिएको थापाले जानकारी दिनुभयो ।थापाले दिएको जानकारी अनुसार यसलाई आइयूटिएन(विश्व संरक्षण संघ)को रातो सूचिमा अति संवेदनशील भनेर सूचिकृत गरिएको छ । त्यसैगरी नेपालको कानुनले पनि संरक्षित वन्यजन्तुको सुचिमा राखेको छ । उहाँका अनुसार यो सर्प विश्वव्यापिरुपमा नै अति कमलाई मात्र जानकारी भएको सर्प हो ।

Leave a Reply