धौलागिरी हिमालको फेद हुदै एउटा भुकम्पको फल्ट आएको छ’

छिमेकी जिल्ला पर्बत जिल्लामा जन्मेर नेपालमा भौतिक बिज्ञान (Physics) बाट मास्टर सकेर पेरिस बाट भुकम्प शास्त्र (Seismology) मा फेरी मास्टर गरेर ऐले स्विजरल्याण्डमा पिएचडी गर्दछन् शिव सुबेदी । नेपालमा भुकम्पबिद (Seismologist) हरु एकदमै कम भएको अबस्थामा आफ्नै देशको लागि केहि गर्न सकिन्छ कि भनेर सानो प्रयास गरेका सुबेदीको प्रयास म्याग्दी सहित नेपालका विद्यालय सहित विभिन्न क्षेत्रमा सन्देशमुलक अभियान सञ्चालन भइरहेको छ।

२०७२ सालको भुकम्प पछि पनि नेपालको पश्चिम भागमा अझै पनि म्यग्नेचुड ८ भन्दा ठुलो भुकम्प जान सक्ने शक्ति संचय भएको छ भन्ने विश्वका बैज्ञानिक सहमत भएको अबस्थामा नेपालमा भुकम्प शिक्षा औपचारिक रुपमा सुरु नभएको सुबेदी दुखी छन् । सुबेदीले पीएचडी गर्दै गरेको स्विजरल्याण्डको लुजान युनिभर्सिटीको सक्रियता र सहयोगमा नेपालका पुरानो पश्चिमांचल (ऐले गण्डकी प्रदेश, प्रदेश न ५ का बहुसंख्यक जिल्ला) का उत्कृष्ट २२ बिद्यालयमा भुकम्प नाप्ने यन्त्र (सेस्मोमीटर) जडान गरी विद्यालयमा भूकम्पीय शिक्षाका लागि शिक्षकलाई तालिम तथा यन्त्र समेत जडान गरिएको छ । यसैसन्र्दभमा सुबेदीसँग म्याग्दीमा भूकम्पको जोखिमका बारेमा केन्द्रित भएर हरिकृष्ण गौतमले गरेको कुराकानी ।

भुकम्प कसरी जान्छ ?
बैज्ञानिकहरुका अनुसार भूकम्पको मुख्य कारण प्लेट टेक्टोनिक्स (plate tectonics) हो । विश्वमा सामान्यतया भुकम्प जमिनमुनि रहेका चट्टानहरुको चाल ( मुभमेन्ट) को कारणले जान्छ । नेपाल र हिमालयमा पनि कारण त्यै हो, नेपाल इन्डियन प्लेट र तिब्बतियन प्लेटको घर्षण हुने ठाँउमा अबस्थित छ । जब इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुस्छ त्यसले हामी मुनिको जमिनमा शक्ति संचय गर्छ, उक्त शक्ति बाहिर आउने प्रक्रियालाई भुकम्प भनिन्छ ।

 

विद्यालयमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान किन आवश्यक देख्नुभयो त ?
भौगोलिक अबस्थाका कारण नेपाल भूकम्पीय दृष्टिकोणले उच्च जोखिममा छ तर दुखका साथ भन्नु पर्छ नेपालमा कतै पनि भुकम्प र भुकम्प बिज्ञान (सेस्मोलोजी) को बारेमा पढ्न पाइदैन । २०७२ सालको गोर्खाको बार्पाक केन्द्रबिन्दु बनाएर गएको भुकम्पपछि पनि विश्वका बैज्ञानिकहरु जो नेपालमा धेरै लामो समयदेखि अध्ययन अनुसन्धान गर्दै आइरहेका छन् । उनीहरुले नेपालको पश्चिम क्षेत्रमा भविष्यमा ८ भन्दा ठुलो भुकम्प जनाको लागि पर्याप्त शक्ति संचय भएको छ भनेर बताइरहेको अबस्थामा यो क्षेत्रमा भुकम्प बाट हुन सक्ने मानबिय क्षेती न्यूनीकरण गर्नको लागि काम गर्न पर्छ भनेर स्विजरल्याण्डको लुजान विश्वबिद्यालयको सहयोगमा ‘नेपाली बिद्यालयमा भुकम्प शिक्षा कार्यक्रम’ सुरुवात गरिएको हो । समाजमा ज्ञान बाड्नको लागि बिद्यालय उत्कृष्ट ठाउँ हो भन्ने हाम्रो विश्वास हो । त्यसैले हामीले २२ बिद्यालयमा भुकम्प मापक यन्त्र जडान गरेका हौ !

विद्यालयभित्र जडान गरिएको यन्त्रले कसरी भुकम्पको इपिसेन्टर, दूरी, गहिराइ र म्याग्नेच्युड पत्ता लगाउँछ त ?
हामीले दुइटा उद्येश्यका साथ बिद्यालयमा यन्त्र जडान गरेका हौ (एक बिद्यार्थीलाइ भूकम्पको बारेमा सम्पूर्ण जानकारी गराउन, पाएको जानकारी समाजमा बाड्न, अर्को, बिद्यार्थीलाइ आफ्नै आखा अगाडी भुकम्प कसरी नापिदो रैछ, कसरी त्यसको बारेमा धेरै जानकारी पाइदो रैछ त्यो बताउन । भुकम्पको म्याग्नेच्युड, दुरी नाप्नु अगाडी भूकम्पको बारेमा केहि कुरा जान्ने पर्ने हुन्छ । जो हामीले सम्बन्धित बिद्यालयका शिक्षकहरुलाई सिकाइसकेका छौ, अब उहाहरुले बिद्यार्थीलाइ सिकाउनुहुन्छ । मैले सामान्य अर्थमा भन्दा हरेक भुकम्प सग कम्तिमा दुइटा तरङ्ग हुन्छ हामीले विज्ञानको भाषामा ए वेभ र S वेभ (P-wave and S-wave) भन्छौ, wave / S- wave बिचमा समयको अन्तर हुन्छ, त्यो अन्तरले भुकम्पको दुरी कति टाढा छ भनेर भन्न सकिन्छ । S-wave को Amplitude प्रयोग गरेर भूकम्पको म्याग्नेच्युड पत्ता लगाउन सकिछ ।, भुकम्पको इपिसेन्टर एउटा यन्त्र बाट पत्ता लगाउन सकिदैन जसको लागि ओरापरका अरु ३ वटा यन्त्रले रेकर्ड गरेको डाटा प्रयोग गर्नु पर्छ ।

म्याग्दी सहित धौलागिरी अञ्चलभित्र कति विद्यालयमा यो यन्त्र जडान गरिएको छ त ?
म्याग्दीको दरवांगमा रहेको जनप्रिय स्कुल सहित धवलागिरीका ७ वटा बिद्यालयमा यो यन्त्र जडान गरिएको छ । म्याग्दीमा मालिका गाउँपालिकाको दरबारङमा जनप्रिय माविबाट पश्चिम म्याग्दी र छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा न्यू होराईजन आवासीय माविबाट बेनी लगाएत आसपासका क्षेत्रको भुकम्पको अवस्था बुझ्न यन्त्र जडान गरिएको छ । यी विद्यालयमा आवश्यकता अनुसार भूकम्पीय शिक्षा सम्बन्धि कक्षा समेत सञ्चालन हुन्छ ।

यो प्रविधिको प्रयोग गर्ने जनशक्ती विद्यालयमा छन त ?
बास्तबमा भुकम्प बिज्ञानको जनशक्ति नेपालमै छैन, मेरो जानकारीमा भए अनुसार सेस्मोलोजीको पढाई ऐले सम्म त्रिभुवन विश्वबिद्यालयले पनि सुरु गरेको छैन, सुरु नहुनुको एउटा कारण जनशक्तिको अभाव पनि हो । बिद्यालयमा भएको जनशक्तिलाई हामीले तालिम दिएका छौ र हाम्रो विश्वास तालिम प्राप्त गर्नु भएका शिक्षकहरुले आफैले भुकम्पको इपिसेन्टर, दूरी र म्याग्नेच्युड पत्ता लगाउनु हुन्छ भन्ने हो ।

सामुदायिक तथा निजी विद्यालयमा अध्ययरत विद्यार्थीलाई भुकम्पीय शिक्षाको आवश्यकता कत्तिको देख्नुहुन्छ ?
हाम्रोमा किताबमा भएको कुरा पढ्ने र परिक्षामा धेरै न. ल्याउने परिपाटी बसेको छ, त्यो आबस्यक छ पनि, तर एउटा बिषयमामा पास हुन हामी जति ध्यान दिन्छौ त्यो भन्दा धेरै गुणा धेरै ध्यान भुकम्प शिक्षामा दिन आबस्यक छ, सबै बिषयमा उत्कृष्ट भएर जिन्दगीमा नै फेल हुन हुन्न हामी । अगा८ी पनि मैले भने विद्यालयमा जडान गरिएका यन्त्रको प्रयोगसँगै विद्यार्थी, अभिभावक र शिक्षकलाई लक्षित गरी भूकम्पीय शिक्षालाई प्राथमिकता दिइएने छ । अर्को कुरा राज्यका निकायबाट पुर्ननिर्माणका अभियानमा केन्द्रित भएका छन तर शिक्षाका खासै ध्यान गएको देखिदैनन् ।

भूकम्पबाट म्याग्दी कत्तिको जोखिममा छ त ?
हामीले कुन जिल्ला कत्तिको जोखिममा छ भनेर भन्ने एउटा आधार Seismic Hazard Map हो, जसमा म्याग्दी उच्च जोखिममा छैन, तर पनि मैले फेरी भन्छु पश्चिम नेपाल ठुलो विनाशकारी भूकम्पको उच्च जोखिममा छ । म्याग्दी पनि पश्चिम नेपालमा नै पर्दछ । पश्चिम नेपालमा सन् १५०५ मा म्याग्नेच्युड ८ भन्दा ठुलो विनाशकारी भुकम्प गएको विभिन्न श्रोतहरुले देखाएका छन् जुन समय आज भन्दा ५०० भन्दा धेरै बर्ष पहिला हो । ५०० बर्ष सम्म इन्डियन प्लेट तिब्बतियन प्लेट मुनि घुस्दा हुने शक्ति संचयको आधारमा पश्चिम नेपाल अर्को ठुलो भुकम्पको लागि सम्भावित ठाउँ हो भन्न सकिन्छ !

भूकम्म मापन केन्द्रको तथ्याङ्क हेर्दा पनि पश्चिम म्याग्दीमा चार रेक्टरस्थलको भूकम्पको धक्का धेरै देखिन्छ । यसका बारेमा प्रष्ट बताईदिनुहोस् न ।
हामीले समग्रमा नेपाललाइ हेर्दा के भन्न सक्छौ भने पश्चिम नेपाल जहाँ म्याग्दी जिल्ला पनि पर्दछ । यो क्षेत्रमा विनाशकारी भुकम्पको लागि पर्याप्त शक्ति जमिनमुनि छ । म्याग्दी जिल्लाको मात्र कुरा गर्दा ठ्याक्कै यहि कारण भन्नको लागि हामीले म्याग्दी जिल्लामुनिको जमिनको अवस्थाको बारेमा केहि अध्ययन गर्नु पर्छ । म्याग्दीको अवस्थालाई सम्रग पश्चिम नेपालमै हेर्नुपर्छ । पश्चिम नेपालमा भूकम्प गएमा म्याग्दीमा पनि ठूलो क्षती हुनसक्छ । भूकम्पको केन्द्रविन्दु जहाँ पनि हुनसक्छ ।

विषेशगरी पश्चिम म्याग्दीको ताकम, मुना र देविस्थानमै केन्द्रित भएर भूकम्पको धक्का महसुस हुनुलाई के मान्न सकिन्छ । त्यहाँ आवाज आउने गरी पनि भुकम्प गएको देखिन्छ नी कारण के होला ?

एउटा कारण उक्त स्थान र ओरापरको जमिन तुलनात्मक रुपमा कम्जोर जुन सक्छ अर्को उल्लेखित ठाउँहरु सक्रिय भौगोलिक फल्ट (Geological  Fault ) को नजिकमा हुन सक्छन । मैले माथि तपाईलाई जानकारी गराइसेकको छु । हजुरलाइ थाहा नै होला विज्ञानले शक्ति (इनर्जी) उत्पादन गर्न पनि सकिदैन र नाश गर्न पनि सकिदैन (Energy neither be created nor be destroyed ) भन्छ । जमिन मुनि जम्मा भएको शक्ति निस्कने क्रममा तरङ्गशक्ति , केही तापशक्ति र केही ध्वनिशक्ति मा परिवर्तन हुन्छ । ध्वनिमा परिवर्तित शक्तिले आवाज निकाल्ने हो ।

साविकको धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठुलो बागलुङको बोवाङलाई केन्द्रविन्दु बनाएर गएको ४.९ सबैभन्दा ठूलो रेक्टरस्कलको भूकम्प हो, दुईदशक यता ४ देखी ५ रेक्टरस्केलका भूकम्पको २५ पटक धक्का महसुस भएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ, यसलाई कसरी हेर्नुहुन्छ त ?
बिश्वमा दिनहु विभिन्न रेक्टरका सयौ भूकम्पहरू गैरहेका हुन्छन, नेपालमा सामान्यतया महिनामा कम्तिमा एउटा ४ रेक्टर स्केल भन्दा ठुलो भुकम्प गएको तथ्याङ्कहरुले देखाउछन । तपाईलाई मैले उपलब्ध् गराएको एप्समा पनि हेर्नुहोस् दैनिकजसो भूकम्पको जानकारी देखाउँछ । मैले म्याग्दीमा तपाइले उल्लेख गरेको भुकम्प र भूकम्पको संख्यालाइ सामान्य प्रक्रिया नै भन्छु ।

तिब्वत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुदै एउटा फन्टलाइन रहेको बताइन्छ । यसलाई पुष्टि गर्ने आधारहरू केही छ त?
हो, धौलागिरी हिमालको फेद हुदै एउटा फल्ट आएको छ, जसलाई हामी नर्मल फल्ट Normal Fault ) भन्छौ, जुन कुरा जियोलोजीक अध्ययनहरुले पुष्टि गरिसकेको छन् ! अर्को कुरा सक्रिय फल्ट भएको ठाउँमा भुकम्प धेरै आउछन !

भुकम्पका बारेमा अझैपनि सचेतनामुलक कार्यक्रमहरु अधिकांस नेपालीको पहुँच बाहिर छ । यसलाई प्रभावकारी बनाउन के गर्नुपर्छ ?
हामी अझै पनि भुकम्प शब्द सुन्दा बित्तिकै डराउछौ तर हामी भुकम्प सग जति डराए पनि यसलाई न रोक्न सकिन्छ न आफै रोकिन्छ । त्यसैले यसबाट बच्न हामीले पूर्व तयारी राम्रो गर्नुपर्छ । जसको लागि सचेतनामुलक कार्यक्रम आबस्यक छ। नेपालमा सरकार आफैले प्रभाबकारी कार्यक्रम ल्यायो भने धेरै राम्रो हुन्थ्यो, बाहिरी देशका संस्था र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमले पुरै देशका नागरिकलाई सुसुचित गर्न धेरै गारो हुन्छ । मुख्यकुरा त सबैले ’भुकम्प जति बेला पनि आउन सक्छ तयारी गर्नै पर्छ’ भन्ने सोच राखियो भने धेरै परिबर्तन होला ।