धौलागिरी गाउँपालिका–७ मा अवस्थित ताकम कोतको पूर्ननिर्माणका लागि प्रवासी म्याग्देलीले २ लाख ५१ हजार आर्थिक सहयोग गरेका छन् । जिल्लामै पर्यटकीय तथा धार्मिक सम्भावना बोकेको ताकमकोत जगन्नाथ अन्नपूर्ण मन्दिरको पूननिर्माण तथा जिर्णद्धारको कार्यलाई तिब्रता दिन मोना अन्तराष्ट्रियका संस्थापक अध्यक्ष एवम् म्याग्दी विकास मञ्चका अध्यक्ष तेजप्रकाश पुनले मन्दिर पुननिर्माण समितिका संयोजक तेजेन्द्र थापालाई हस्तान्तरण गरेका हुन् ।

‘धार्मिकसँगै पर्यटकीय गन्तब्य पनि हो,‘पूर्वाधार विस्तार गरी विदेशीलाई पनि आर्कषित गर्न सकिन्छ’ संयोजक थापाले भने । उनका अनुसार बाईसे चौबीसे राज्यका पालामा थापा राजाले दुई सय बर्ष राज्य सञ्चालन गरेको मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्व सहित मन्दिरको पुननिर्माणको कार्य भइरहेको बताए ।

आर्थिक सहयोगमार्फत पुननिर्माणको अभियान सहज बनाउन आगामी दिनमा पनि सहयोग जुटाउन सहयोगदाता पुनले प्रतिबद्धता जनाए । समुन्द्री सतहदेखी दुई हजार ६ सय मिटर उचाईमा अवस्थित मन्दिरबाट धौलागिरी, गुर्जा, चुरेन, पुथा, निलगिरी, अन्नपूर्ण लगाएतका हिमश्रंखला, घना जंगल, ग्रामिण बस्तीको अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण, दुर्गा, जगन्नाथ देवीदेवताको मुर्ती रहेका कोतमा पुजाआजा र भाकल गरेमा मनोकामना पुरा हुने जनविश्वासले बर्षेनी सयौंको संख्यामा भक्तजन पुग्ने गरेका छन् ।

पश्चिम म्याग्दी हुदै गुरिल्ला, धौलागिरी आधार क्षेत्र र ढोरपाटन शिकार आरक्ष जाने आन्तरिक तथा बाह्य पर्यटकलाई कोतसम्म पुग्ने गरी विभिन्न जानकारीमुलक साम्रागी समेत बनाइने समितिले जनाएको छ । नवदुर्गा, जेष्ठी पूर्णीमा, मंसिर पुर्णीमा चैत्राष्टमीमा पुजाआजा र भाकल गरी बली दिने गरिन्छ। कोतमा सुरुङ्गा छेलोको खत, ओखल, गस्ती स्थल, पर्खाल, ईटा, बंकर, मन्दिर मुर्ती लगाएत तत्कालिन समयमा दरवारको सुरक्षामा आवश्यक पर्ने गढी, किल्ला, तामाको आवाज आउने गल्छी, दमाह आकारको ढुंगा लगाएत रहेका छन् ।

Leave a Reply